दमाैली : तनहुँ कारागाराका कैदीबन्दीले दसैंको टिका लगाएका छन् । विभिन्न अपराधमा सजाय काटिरहेका कैदीबन्दीले शुक्रबार कारागारभित्रै दसैंको टिका लगाएका हुन् ।
कोरोना जोखिमका कारण आफन्तको हातबाट टिका लगाउने व्यवस्था नगरिएपनि कैदीबन्दीले आ–आफै दसैंको टिका लगाएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिए । कैदीबन्दीलाई आफन्तसँग भेटघाट गर्ने प्रबन्ध गरिएपनि यो वर्ष आफन्तको हातबाट टिका लगाउन भने रोक लगाइएको उनले बताए ।
“कोरोना कहरका आफन्तलाई टाढैबाट भेट्ने व्यवस्था मिलाएका छौ, तर टिका लगाउन दिन सक्ने अवस्था भएन,” उनले भने, “कैदीबन्दीले आफै ठूलाबडाका हातबाट टिका लगाएका छन् ।”
कैदीबन्दीले कारागारभित्रै रमाइलो वातावरणमा दसैं मनाइरहेका छन् । कारागारमा हाल दुई सय ७९ कैदीबन्दी छन् ।