श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    श्रममन्त्री श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री अवारबीच भेटवार्ता

    खबरपुञ्ज संवाददाता

    ९ कार्तिक २०७८, बुधबार

    काठमाडाै : संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच बुधवार भेटवार्ता भएको छ ।

    भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हक हित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गरे । सो क्रममा नेपाल–युएई द्विपक्षीय बैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका विषयमा छलफल भएको छ ।

    आबुधावीमा अन्य कुटनीतिक भेटघाट

    आबुधाबी डायलगको छैटौँ मन्त्रीस्तरीय वैठकमा सहभागी नेपाली टोलीले आबुधावीमा अन्य कुटनीतिक भेटघाट समेत गरेको छ । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।

    कतारसँगको सचिवस्तरीय बैठकमा द्विपक्षीय श्रम सम्झौता, नोभेम्वर ८ र ९ मा हुने संयुक्त बैठकको तयारीका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भयो । साउदी अरेवियासँगको सचिवस्तरीय वैठकमा द्विपक्षीय श्रम सम्झौता, श्रमिकको क्षमता परीक्षण प्रणालीमा साउदी सरकारको सहयोग लिने विषयका साथै नेपाली श्रमिक लक्षित तालिम केन्द्र स्थापनाको बिषयमा छलफल भएको मन्त्रीको सचिवालयले जनाएको छ ।

    मलेसियासँगको सचिवस्तरीय बैठकमा संयुक्त समितिको वैठक छिटो आयोजना गर्ने, सामाजिक सुरक्षाको दायरा वृद्धि गर्ने र नेपाली श्रमिकको मृत्युको कारण र रोकथामका साथै मलेसियामा मृत्यु भएका श्रमिकको शव नेपाल ल्याउन सहजिकरण गर्ने बिषयमा छलफल भएको वैठकमा सहभागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा थानेश्वर भुषालले बताए ।

    उपसचिव भुषाललाई रिसर्च अवार्ड

    श्रमिक पठाउने र लिने देशहरुको साझा फोरम आबुधाबी डायलगमा आप्रवाशी कामदारको विषयमा अनुसन्धनात्मक प्रतिवेदन प्रस्तुत गरेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव डा. थानेश्वर भुषालले रिसर्च अवार्ड प्राप्त गरेका छन् ।