काठमाडौं : छैटाै श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ मा भाग लिएर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ शनिबार स्वदेश फर्किएका छन् । कात्तिक ८ देखि १२ गतेसम्म दुबईमा सम्पन्न श्रममन्त्रीस्तरीय ‘आबुधाबी डाइलग’ डाइलगमा सहभागि हुन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठको नेतृत्वमा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम र उपसचिव डा. थानेश्वर भुसाल कार्तिक ७ गते दुबई प्रस्थान गरेका थिए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले आफ्नो भ्रमण सफल र नेपालको निम्ति फलदायी रहेको बताए । श्रमिक पठाउने देश र श्रमिक लिने देशबीच सहकार्य र संवाद गर्नका लागि आयोजित ‘आबुधाबी डायलग’ मा नेपाली श्रमिकहरूको हित र सुरक्षाका बिषयमा मन्त्री श्रेष्ठले सम्वोधन गरेका थिए ।
मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर स्वदेश फर्केका श्रमिकको सामाजिक र आर्थिक जीवनलाई सुधार गर्न गन्तव्य देशले आर्थिक तथा प्राविधिक सहयोग गर्नुपर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने, न्यूनतम पारिश्रमिक बढाउनुका साथै निशुल्क खान- बस्न व्यवस्था गर्नुपर्ने, श्रमिकको क्षमता विकासका कार्यक्रम गर्नुपर्ने र आगमन तथा प्रस्थान विन्दुमा निशुल्क पिसिआर परीक्षण, निशुल्क क्वारेन्टाइन तथा आइसोलेसन सेन्टरको व्यवस्था र निशुल्क उपचारको व्यवस्था मिलाउन प्रस्ताव गरेका थिए ।
युएई भ्रमणका मन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संशाधन मन्त्री डा. अव्दुलरहमान अव्दुलमानन अल अवारबीच भेटवार्ता समेत भयो । सो क्रममा नेपाल– युएई द्विपक्षीय वैठक आयोजना गर्ने, युएई जाने नेपाली कामदार लक्षित सिपमुलक तालिम संचालन गर्ने, इन्जिजियर, डाक्टर, नर्सलगायत दक्ष र प्राविधिक कामदार युएई पठाउने, सामाजिक सुरक्षा योजना विस्तार गर्ने लगाएका बिषयमा छलफल भयो । वैठकमा सहभागि नेपाली टोलीले आवुधावीमा अन्य कुटनीतिक भेटघाट समेत गर्यो । नेपाली श्रमिकले वैदेशिक रोजगारीका क्रममा भोग्दै आएका समस्या समाधानमा केन्द्रित रहेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले कतार, साउदी अरेविया र मलेसियाका समकक्षीहरुसँग छुट्टाछुट्टै भेटवार्ता गरे ।
मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममा नेपाली समुदायसँग अन्तरक्रिया समेत गरेका थिए भने तनहूँ सेवा समाज यूएईले आयोजना गरेको कार्यक्रममा पनि सहभागी भएका थिए ।