दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ किसानले आफू तनहुँ छाडेर कतै नजाने स्पष्ट पारेका छन् । तनहुँको व्यास नगरपालिका–११ मा सोमबार आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले भने, “किसान अर्को जिल्लामा गएर चुनाव लड्छन् भनेर भ्रम फैलाइएको छ, तनहुँ छाडेर कतै जान्न ।”
सबै विकास निर्माणको काम तनहुँमै गरेकाले आफू पुनः तनहुँबाटै चुनाव लड्ने मन्त्री श्रेष्ठले घोषणा गरे । किसान पुनः एमालेमै फर्किन्छन् भनेर पनि भ्रम फैलाइएको बताउँदै श्रेष्ठले त्यस्ता भ्रमको कुनै औचित्य नरहेको बताए ।
मन्त्री श्रेष्ठले तनहुँमा सबै विकासका काम आफूले गरेको बताउँदै विपक्षीले भ्रम फैलाउने काम गरेको आरोप लगाए । “काम गर्ने कालु मकै खाने भालु भइरहेको छ, काम जति सबै हामीले ग¥यौ, प्रचार चाँही अरुले गरेका छन् ।”
जनताकाे मन जित्नुपर्छ
मन्त्री श्रेष्ठले जसले राम्रो काम गर्छ जनताले उसैलाई निर्वाचित गराउने उल्लेख गरे । जनताको मन जितेरै आज आफू प्रतिनिधिसभा सदस्य र मन्त्री बनेको बताउँदै श्रेष्ठले भने, “जनताका सामु राम्रो काम गर्नुपर्छ, जनताको मन जित्नुपर्छ, त्यसो भयो भने पाँच वर्षपछि पुनः सांसदमा निर्वाचित हुन सकिन्छ,” उनले भने “विगतमा यो क्षेत्रबाट वरिष्ठ नेताले पटक पटक जित्नुभएकै थियो, जनताले ठूलो नेता र सानो नेता भन्दैनन् ।” मन्त्री श्रेष्ठले गत निर्वाचनमा जनताले वरिष्ठ नेतालाई विश्वास नगरेर आफूलाई जिताएको भन्दै जनताप्रति सधैँ उत्तरदायी भएर काम गरिरहने प्रतिबद्धता व्यक्त गरे ।
तनहुँ क्षेत्र नम्बर १ का ४३ वडामा विकासका धेरै कामहरु भएको उल्लेख गर्दै मन्त्री श्रेष्ठले अझै पनि विकासका धेरै काम गर्न बाँकी रहेको बताए ।