नाच्दै गाउँदै मत माग्दै (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नाच्दै गाउँदै मत माग्दै (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    १० मंसिर २०७८, शनिबार

    दमाैली : युवायुवतीको एक हुल व्यास नगरपालिका–३ स्थित खुल्ला मैदान नजिक आइपुग्छ । त्यसपछि हातमा खैजडी बोकेका युवाहरुले गीत गाउन सुरु गर्छन् । सङ्गै रहेका युवतीहरुले खैजडीको तालमा नाच्न थाल्छन् । आसपास रहेका व्यक्तिहरुको ध्यान त्यतै खिचिन्छ ।

    नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँ जिल्ला समितिको नेतृत्व चयनका लागि शनिबार भइरहेको अधिवेशनमा देखिएको दृश्य हो । उम्मेदवारको पक्षमा माहोला सिर्जना र मत तान्ने उद्देश्य स्वरुप युवायुवतीले कौरा नृत्य प्रस्तुत गरेका हुन् ।

    त्यही भीडमा तीन जना गन्धर्व समुदायका व्यक्ति सारङ्गीको तालमा गुनगुनाउँछन् । एक युवा सारङ्गीको तालमा मादल बजाउँछन् । नेपाली काङ्ग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान भइरहेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म चल्नेछ ।

    सभापतिका लागि वैकुण्ठ न्यौपाने र जितप्रकाश आले प्रतिस्पर्धामा छन् । न्यौपानेको समूहबाट उपसभापतिमा उदयराज गौली र किसान गुरुङ तथा आलेको समूहबाट उपसभापतिमा राजेन्द्रकृष्ण श्रेष्ठ र देवकुमार श्रेष्ठ प्रतिस्पर्धामा छन् । सचिवमा मोहन गिरी, केशबहादुर सुनार, सहदेव अधिकारी र लक्ष्मीभक्त खनाल तथा सहसचिवमा मिलन आले, धिरेश खनाल, हुतमणि अधिकारी र परमेश्वर भट्टराई प्रतिस्पर्धामा छन् ।

    निर्वाचनबाट ४८ पदमा नेतृत्व चयन हुँदैछ । जिल्ला अधिवेशनले सात पदाधिकारी सहित ४१ सदस्य निर्वाचित गर्नेछ । प्रत्येक गाउँपालिकाबाट एक महिला सहित एक अन्य गरी कूल १२, प्रत्येक नगरपालिकाबाट एक महिला सहित दुई अन्य गरी कूल १२ जना सदस्य निर्वाचित हुनेछन् ।

    समानुपातिक सदस्यतर्फ प्रत्येक सदस्यको दुई तिहाईले हुने १६, अल्पसङ्ख्यक, मुस्लिम, अपाङ्गबाट एक, खसआर्यतर्फ दुई महिला सहित चार, आदिवासी जनजातितर्फ चार महिला सहित ९, दलिततर्फ एक महिला सहित तीन सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ ।