दमाैली : नेकपा एमालेको केन्द्रीय सदस्यमा टुकराज सिग्देल, भगवती न्यौपाने र सविता रसाइली निर्वाचित भएका छन् । चितवनको सौराहामा जारी एमालेको दशौं महाधिवेशनमा उनीहरु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका हुन् ।
सिग्देल गन्डकी प्रदेशबाट खुल्ला तर्फ निर्वाचित भएका थिए । उक्त क्षेत्रमा सिग्देल सहित ६ जनाको मात्र उम्मेदवारी परेको थियो । त्यस्तै न्यौपाने खुल्ला महिला क्षेत्रबाट निर्वाचित भएकी हुन् । त्यसैगरि रसाईली दलित महिला क्षेत्रबाट केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
केन्द्रीय सदस्य निर्वाचित हुने सिग्देल संविधानसभा सदस्य हुन् । उनी हाल एमालेको केन्द्रीय सल्लाहकार परिषदका सदस्य हुन् । त्यसैगरी न्यौपाने राष्ट्रिय सभा सदस्य हुन् । उनी एमाले तनहुँको सचिव हुन् भने एमाले जिल्ला सचिवालय सदस्य रहेकी रसाईली शुक्लागन्डकी नगरपालिकाकी उपमेयर हुन् ।
तनहुँका अर्का नेता किरण गुरुङ खुल्ला तर्फबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन् । सो क्षेत्रमा सर्वसम्मत नभएपछि मतदान भएको छ । मंगलबार बिहानसम्म मतपरिणाम आउने छ । गुरुङ एमालेका स्थायी समितिका सदस्य तथा गन्डकी प्रदेशका संयोजक हुन् । केन्द्रीय कमिटीमा निर्वाचित भएमा गुरुङ पुनः स्थायी समिति सदस्य बन्नेछन् । त्यस्तै तनहुँका अर्का नेता शिव अधिकारी केन्द्रीय लेखा आयोगको सचिवमा निर्वाचित भएका छन् ।