दमौली : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा खुला सदस्यतर्फ उम्मेद्वारी दिएका तनहुँका नेता किरण गुरुङ निर्वाचित भएका छन् । उनले एक हजार आठ सय ११ मत प्राप्त भएर विजयी भएका हुन् । दुई हजार ९६ मत खसेको थियो खुला केन्द्रीय सदस्यमा ।
गुरुङ ओलीले सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा परेका थिए । तर निर्वाचनमा जानैपर्ने बाध्यता आईलागेपछि गुरुङ लगायत नेताले उम्मेद्वारी दिनु परेको थियो । चितवन महाधिवेशनको अघिल्लो दिनसम्म उनले उपाध्यक्ष पद आफूले नछाड्ने दाबी गर्दै आएका थिए ।
गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री गुरुङले सञ्चार माध्यमसँगको कुराकानी गर्दै भनेका थिए ‘यसपाली चुनाव हुने अवस्थामा पनि मेरो उम्मेद्वारी उपाध्यक्षमा नै हुन्छ ।’ उनी नवाै महाधिवेशनमा केपी शर्मा ओलीको प्यानलबाट उपाध्यक्षमा उठेर पराजय भएका थिए । यसपालि उपाध्यक्ष बन्ने दावा गरिरहेका गुरुङ चितवन पुगेपछि भने नरम देखिए । खुला केन्द्रीय सदस्यमा उम्मेद्वारी दिएर निर्वाचित भएका हुन् ।
१० औँ महाधिवेशनबाट तनहुँका चार जना केन्द्रीय सदस्य हुन सफल भएका छन् । राष्ट्रियसभा सदस्य भगवती न्यौपाने महिला खुलातर्फ, शुक्लागण्डकी नगरपालिकाकी उपमेयर सविता रसाईली दलिततर्फ र संविधानसभा सदस्य टुकराज सिग्देल भुगोलतर्फ गण्डकीबाट निर्विरोध केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।