दमौली : विद्यार्थी नभएका तनहुँका विद्यालय खारेज गरिने भएको छ । शैक्षिक सत्र २०७७ देखि विद्यालयमा विद्यार्थी भर्ना नभई सञ्चालनमा नरहेका विद्यालयको अनुमति खारेज गर्ने तयारी गरिएको हो ।
शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख रमाकान्त शर्माको अध्यक्षतामा सबै स्थानीय तहका शिक्षा, युवा तथा खेलकुदका शाखा प्रमुखहरुको मंगलबार सम्पन्न बैठकले विद्यार्थी विहिन विद्यालयको अनुमति खारेजीमा लैजान सबै स्थानीय तहहरुबाट तत्काल प्रक्रिया अगाडी बढाउने निर्णय भएको छ ।
आर्थिक वर्ष २०७८÷०७९ को लागि नेपाल सरकारवाट प्राप्त ससर्त अनुदान अन्तर्गत तलव भत्ता र छात्रवृत्ति लगायतका विभिन्न शिर्षकहरु अध्ययन गरी उक्त शिर्षकहरुमा विनियोजित रकम अपुग हुने भएमा पुष्ट्याई सहित शीर्षकगत रुपमा नपुग हुने रकमको विवरण मङ्सिर मसान्तसम्म शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा माग गरी पठाउने निर्णय भएको छ ।
बैठकले विद्यालयहरुमा छात्रवृत्ति रकम वितरण गर्दा विद्यालय व्यवस्थापन समितिबाट निर्णय गराइ छात्रवृत्ति पाउने विद्यार्थीहरुको नाम उल्लेख गरी अभिलेख राखी स्थानीय तहले तोकेको दिनमा सार्वजनिक कार्यक्रम गरी वितरण गर्ने व्यवस्थाको लागि विद्यालयलाई परिपत्र गर्ने निर्णय भएको छ ।
शिक्षकको पेशागत सहयोग र विद्यलय अनुगमनको लागि प्रत्येक स्थानीय तहमा पेशागत सहयोग समूह निर्माण गर्ने र स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाइबाट समन्वयात्मक रुपमा कार्यक्रम तय गरी संयुक्त रुपमा शिक्षकको पेशागत सहयोग र विद्यालय अनुगमन सुपरीवेक्षण प्रभावकारी तरिकाले गर्ने निर्णय भएको शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।
बैठकमा स्थानीय तहमा परेका शैक्षिक समस्या र समस्या समाधानका उपायहरू, यसवर्षको जिल्ला र दिवा खाजा, छात्रवृत्ति, बालविकास केन्द्र व्यवस्थापन, विद्यालयमा पुस्तकालय, सूचना तथा प्रविधि ल्याव, विज्ञान प्रयोगशाला, प्रारम्भिक कक्षा पढाइ कार्यक्रम, विद्यालय अनुगमन र शिक्षक पेशागत सहयोग, छात्राहरुलाइ सेनेटरी प्याड वितरण, नमुना विद्यालयको निर्माण लगायतको विषयमा छलफल भएको थियो ।