तनहुँमा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गरिने (मिति सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गरिने (मिति सहित)

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७८, बुधबार

    दमाैली : तनहुँमा सबै स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गरिने भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले मङ्सिर १७ गतेदेखि दुई चरणमा गरी ९ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन गर्ने व्यवस्था मिलाउन लागेको हो ।

    जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाट सङ्कलनको व्यवस्था मिलाउन लागिएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

    पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।

    मतदाता नामावली सङ्कलनका लागि ९ जना दर्तास्थल व्यवस्थापक, पाँच जना दर्ता कर्मचारी, ९ जना सहायक दर्ता कर्मचारी र ९ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन हुने ढकालले बताए । सम्बन्धित स्थानीय तहका कर्मचारीलाई नै दर्तास्थल व्यवस्थापकको रुपमा खटाइएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

    मतदाता नामावली सङ्कलनमा सबैलाई सहभागी गराउन कार्यालयले प्रचारप्रसार, स्थानीय तहमा सूचना टाँस गरिसकेको जनाएको छ भने राजनीतिक दल, जनप्रतिनिधि, सञ्चारमाध्यमबाट पनि सहयोगको अपेक्षा गरेको ढकालले बताए । “सबैको सहयोगले मात्रै यो कार्यक्रम सफल हुन्छ, राजनीतिक दल, जनप्रतिनिधिले वडास्तरसम्म कार्यक्रमको बारेमा प्रचारप्रसार गरिदिनुपर्छ,” उनले भने ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भईरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने ढकालले बताए । अन्य जिल्ला स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकहरुले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा मङ्सिर १७ गतेदेखि नाम दर्ता गराउन सक्नेछन् । मतदाता नामावली सङ्कलनलाई सहजता दिन जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारी र पालिकास्तरमा पालिकाका प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ ।

    मतदाता नामावली सङ्कलन कार्यको प्रचारप्रसारका लागि जिल्ला निर्वाचन कार्यालयले आज आयोजना गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले निर्वाचनमा सबै नागरिकको सहभागिताका लागि मतदाता नामावली दर्ता गराउन सबैले सहयोग गर्नुपर्ने बताए ।

    नेकपा एमाले तनहुँका कार्यवाहक अध्यक्ष श्रीप्रसाद श्रेष्ठले अभियान सफल पार्न राजनीतिक दलको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।