आजबाट स्थानीय तहमै मतदाता नामावली सङ्कलन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आजबाट स्थानीय तहमै मतदाता नामावली सङ्कलन

    खबरपुञ्ज संवाददाता

    १६ मंसिर २०७८, शुक्रबार

    दमौली : तनहुँमा सबै स्थानीय तहबाट आजदेखि नामावली सङ्कलन सुरु भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँले मङ्सिर १७ गतेदेखि दुई चरणमा गरी ९ वटा स्थानीय तहबाट मतदाता नामावली सङ्कलन सुरु गरेको हो ।

    जिल्ला निर्वाचन कार्यालय र प्रशासन कार्यालयबाट मात्रै मतदाता नामावली सङ्कलन हुँदै आएकामा सर्वसाधारणको सहजताका लागि स्थानीय तहबाट सङ्कलनको व्यवस्था मिलाइएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए ।

    पहिलो चरणमा मङ्सिर १७ गतेदेखि २६ गतेसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिका, बन्दिपुर गाउँपालिका, देवघाट गाउँपालिका र म्याग्दे गाउँपालिकामा मतदाता नामावली सङ्कलन गरिनेछ । दोस्रो चरणमा मङ्सिर २९ गतेदेखि पुस ९ गतेसम्म शुक्लागण्डकी नगरपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र भानु नगरपालिकामा मतदाता नामावली सङ्कलन हुनेछ । व्यास नगरपालिका भने सदरमुकाममै रहेकाले प्रशासन र निर्वाचन कार्यालयबाटै मतदाता नामावली सङ्कलन हुनेछ ।

    मतदाता नामावली सङ्कलनका लागि ९ जना दर्तास्थल व्यवस्थापक, पाँच जना दर्ता कर्मचारी, ९ जना सहायक दर्ता कर्मचारी र ९ जना दर्तास्थल सहायक गरी कूल ३२ कर्मचारी परिचालन गरिएको छ । सङ्कलन गरिएको विवरण पुस १० गतेदेखि २६ गतेसम्म रुजु गरी २९ गतेसम्म निर्वाचन आयोगमा पठाइनेछ ।

    जिल्ला प्रशासन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा सञ्चालन भईरहेको मतदाता नामावली दर्ता कार्य उक्त अवधिमा पनि निरन्तर रहने ढकालले बताए । अन्य जिल्ला स्थायी बसोबास भई विभिन्न पेशा व्यवसाय गरी तनहुँमा रहेका नागरिकहरुले आफ्नो स्थायी बसोबासको ठेगानामा मतदाता नामावली रहने गरी जिल्ला निर्वाचन कार्यालयमा मङ्सिर १७ गतेदेखि नाम दर्ता गराउन सक्नेछन् ।