दुलेगौडा : गत वर्ष कोरोना संक्रमणका कारण रोकिएको तनहुँ महोत्सव यसपाली हुने भएको छ । तनहुँ उद्योग वाणिज्य संघले आठौँ संस्करणको तनहुँ महोत्सवको तयारी थालेको हो ।
पुस २९ देखि माघ १० सम्म महोत्सव सञ्चालन तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार महोत्सव दमौलीस्थित विपि वनबाटिकामा सञ्चालन गरिनेछ । कोरोनाले ठप्प पारेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन महोत्सव सफल हुने उनको भनाई छ ।
‘आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको प्रर्बद्धनका लागि महोत्सव गर्दैछौँ । कोरोनाले ठप्प भएको आर्थिक क्षेत्रलाई महोत्सवले चलायमान बनाउनेछ’, उनले भने । व्यवसायीको हितका लागि व्यवसायीको आयोजनामा महोत्सव आयोजना गरेको श्रेष्ठले बताए ।
स्थानीय उत्पादन, कृषि, धार्मिक, साँस्कृतिक, पर्यटकीय स्थलको प्रर्बद्धन महोत्सवको प्राथमिकतामा पर्नेछ । स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुती महोत्सवको मुख्य आकर्षण हो । पाँच लाख दर्शकले महोत्सवको अवलोकन गर्ने अनुमान गरेको संघका महासचिव सुबोध अधिकारीले जानकारी दिए । छ करोड रुपैयाँको आर्थिक कारोबार महोत्सवले गर्ने उनले जनाए ।
महोत्सवको आयोजकमा तनहुँ उद्योग वाणिज्य संघसँगै जिल्ला समन्वय समिति र व्यास नगरपालिका रहेका छन् । दमौली बजार इकाई सहआयोजक रहेको छ ।
जिल्लामा एक दर्जनको हाराहारीमा हुने मेला महोत्सव कोरोनाका कारण गएको बर्ष हुन सकेन् । यसपाली छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन देखिन थालेपनि तनहुँमा मेला महोत्सवको घोषणा हुने क्रम सुरु भएको छ ।
२४ मंसिरदेखि ३ पुससम्म पाटन युवा क्लबले व्यास नगरपालिका–५ पाटनमा पहिलो दमौली पाटन साँस्कृतिक एवम पर्यटन महोत्सव गर्दैछ ।