तंग्रिन नपाएका होमस्टे
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तंग्रिन नपाएका होमस्टे

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७८, बुधबार

    दुलेगौँडा ।दोस्रो लहरको कोरोना सुरु भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानीपानी सामुदायीक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो लहरको प्रभाव कम हुदैँ जनजिवन सामान्य लयमा फर्किएपछि पछिल्लो साता बल्ल होमस्टेमा पाहुना राख्न थालिएको छ । १४ मंसिरदेखी होमस्टे पाहुनाका लागि खुला गरिएको हो ।

    होमस्टे खुला गरेपछि पाहुना आउने क्रम सुरु भएको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । ‘पाहुना आउने क्रम सुरु भएको छ । दुई बर्षदेखी सुस्ताएको होमस्टेमा पाहुना भरिएर तंग्रिन्छ कि जस्तो छ । तर अर्को भेरियन्टको कोरोना फैलन थालिसक्यो भन्छन् । त्यसले फेरी थला पार्ने हो कि !’, उनको आशंका छ । आर्थिक अवस्था उकास्नलाई ग्रामिण पर्यटनको माध्यम रोजेका गाउँलेलाई दुई बर्षसम्म कोरोनाले थला पारेको गुरुङले सुनाए । पर्यटक बढेर लय समात्न नपाउदैँ फेरी बन्द गर्नुपर्ने अवस्था आउन सक्ने चिन्ता थपिएको उनले बताए ।

    गुरुङ समुदायको बाहुल वस्ती टुटेपानीमा २०७२ सालदेखी होमस्टे सञ्चालनमा ल्याइएको हो । २०७५ सालपछि यहाँ आन्तरिक र बाह्य पर्यटकको संख्या बढ्दै थियो । बसाइसराईले सुनसान गाउँ पाहुनाले गुज्जार हुदैँ थियो । घरभरी पाहुना भरिभराउ हुदाँ गाउँले उत्साहित भएका थिए । गाउँमा पर्यटक बढ्न थालेपछि बजार झरेकाहरु गाउँ फर्किएर होमस्टे सञ्चालन गर्दैै पाहुनाको स्वागत सत्कारमा तल्लिन भएका थिए । दुई बर्षसम्म कोरोनाले पाहुना विहिन हुनुपर्दा गाउँ फर्किएर होमस्टेमा लागेकालाई झन बढी मार पारेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष गुरुङले बताए । बामे सर्दै गरेको होमस्टेको पुर्वाधार विकासले पाहुना विहिन हुदाँ गति लिन नसकेको उनको भनाई छ ।

    टुनेपानीको भन्दा फरक छैन् व्यथा व्यास नगरपालिका–१३ मा सञ्चालन गरिएको आपस्वाँरा दलित सामुदायिक होमस्टेको । होमस्टेमा विस्तारै बढ्दै गरेका पाहुनाको संख्या कोरोनाले ह्वात्तै घटाइदियो । कोरोना संक्रमणदर उच्च विन्दुमा पुगेपछि पाहुना विहिन भएपछि होमस्टे सञ्चालकहरु खेती किसानिमा रमाएका छन् ।

    विपन्न दलित समुदायको आर्थिक अवस्था उकास्न सुरु भएको होमस्टेमा विदेशी पाहुनाको आगमन निकैआश लाग्दो थियो । २०७६ को चैतबाट देशव्यापी निषेधाज्ञा सुरु भएपछि पाहुना विहिन भएको होमस्टे अझै तंग्रिन सकेको छैन् । अहिले कोरोनाको डर घटेपछि होमस्टे खुला गरिएको त छ । तर छिटफुट आन्तरिक पाहुना बाहेक होमस्टेमा विदेशी पाहुना नआएको होमस्टे सञ्चालक रेशम विकले बताए । ‘हामीकहाँ आउने धेरैजसो पाहुना विदेशी हुन्थे । कोरोना सुरु भएपछि नेपाल घुम्न आउने विदेशी धेरै घटेका छन् । त्यसैको प्रभाव हामीले चलाएको होमस्टेमा देखिन्छ । कहिलेकसो आन्तरिक पाहुना आउँछन्, उत्साहजनक आगमन छैन’, उनले भने । होमस्टेमा पाहुना नभएर फुर्सदिला भएका सञ्चालकहरु महामारीको दुई बर्ष पुर्वाधार सुधार र अर्गानिक उत्पादनमा लागेको विकले उल्लेख गरे ।

    बन्दीपुर बजार आसपासमा सञ्चालित होमस्टे दशैँ पछाडी पाहुनाले भरिएका छन् । दशैँको घटस्थापनापछि सुनसान बन्दीपुर बजारमा पर्यटकको घुईचो सुरु भएको थियो । बन्दीपुरमा पर्यटक बढेसँगै बजारसँगै रहेको बन्दीपुर सामुदायिक होमस्टेमा दैनिक ५० देखी १५० जनासम्म पाहुना राख्ने गरेको होमस्टे सञ्चालक सिता विकले बताईन् । ‘पाहुना बढेर कोरोना अगाडीकै अवस्थामा फर्किएला झै आशा पलाएको छ । दशैँदेखी पाहुनाको स्वागत सत्कारमा सञ्चालक दिदी वहिनीहरुको व्यस्तता बढाएको छ’, विकले अगाडी थप्दै भनिन्, ‘फेरी अर्को भेरियन्ट फैलन थालेको छ । होमस्टे सुनसान हुने चिन्ताले सताएकोे छ ।’ यो होमस्टे महिलाले मात्रै चलाएका हुन् । पहिलो र दोस्रो लहरको कोरोनाले होमस्टे बन्द भएपछि सञ्चालक महिलाको आयआर्जनको स्रोत बन्द भएको विकले बताईन् । ‘घर व्यवहार चलाउन मुस्किल भयो । पाहुना विहिन हुदाँ धेरै फुर्सदिला भयौँ’, उनले सुनाईन् ।

    तनहुँमा कोरोना संक्रमण फैलनु अगाडीसम्म गाउँ गाउँमा होमस्टे खोल्ने लहर चलेको थियो । गण्डकी प्रदेश सरकारले होमस्टेलाई दिने अनुदान जिल्लाका झण्डै ५० होमस्टेले लिएर पुर्वाधार विकास र प्रबद्र्धन गरेका थिए । अनुदान लिएर सुरु गरेका होमस्टे कोरोनापछि ठप्प छन् । कति होमस्टेमा पाहुनाको संख्या शुन्य छ । चल्तीका होमस्टे टुटेपानी, आपस्वाँरा, पाथर्दी पनि पुरानै अवस्थामा फर्किन सकेको छैन् ।

    चार बर्ष अगाडी सञ्चालन गरेर छोटो समयमा धेरै पाहुना भिœयाउन सफल भिमाद नगरपालिका–९ भानुमतीको पाथर्दी सामुदायिक होमस्टेमा पनि पाहुना घटेका छन् । कोरोनाले थलिएको होमस्टे तंग्रिन सकेको छैन् । व्यवासायीक वोयर बाख्रा पालनको अध्ययन अवलोकन गर्न र होमस्टे बस्नलाई हुलका हुल बाँधेर आउने पाहुना घटेर एकाधको संख्यामा झरेको व्यवस्थापन समितिका अध्यक्ष शिवकुमार आले बताउँछन् । ‘कोरोना महामारीको समय पुर्वाधार विकास र सुधारमा सदुपयोग गरेका छौँ’, उनले भने । पुर्वाधारमा सुधार भएकाले नयाँ भेरियन्टको प्रभाव हेरेर होमस्टे प्रर्बद्धनको कार्यक्रम थाल्ने योजना रहेको उनले जानकारी दिए ।