दमौली । प्रथम दमौली पाटन सांस्कृतिक एवं पर्यटन महोत्सवको छैठो दिन बुधबार चर्चित गायक प्रमोद खरेलले महोत्सव स्थल तताएका छन । म बिना मुस्किल छ दमौलीमा आज… भन्दै मन्चमा उक्लिएका प्रमोदले आधा दर्जन बढी गीतहरु गाएका थिए ।
प्रमोदको गीतमा दर्शकहरुले वान्स मोर भन्दै उनलाई थप अर्को गीत गाउन बाध्य बनाएका थिए । वे झुमा…, चाहिदैन तिमी बिनाको…, यो कुरा गोप्य नै राखुला.., झ्यालबाट हेर.., बोलका गीतहरु गाएर चर्चित गायक खरेलले दर्शकहरुलाई नचाएका थिए । पाँच बजे मन्चमा प्रवेश गरेका खरेलले साँझको दमौलीको सिरेठोलाई नचाएर कम गरेका थिए । प्रचारप्रसार समितिका संयोजक अर्जुनकुमार श्रेष्ठले प्रमोद खरेलको गीतमा दर्शकहरु कम्मर मर्काइ मर्काइ नाँचेको बताए ।
पाटन युवा क्लबका अध्यक्ष अमर थापाले खरेलको बेजोड प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएको बताए । उक्त दिन खरेलको साथमा लोक गायिका टिना थापा, स्थानीय कलाकार शंकर परियार, विश्व बुढा, बिन खाती लगायतकाले गीत गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
छैठौ दिन पनि कपडा, होटल, जुत्ता, ढाका, च्याउका सटलहरुमा दर्शकको आकर्षण उल्लेख्य रहेको महोत्सवका संयोजक पवन चुमी थापा मगरले बताए । बुधबार पनि ४ हजार भन्दा बढीले डुंगाको सयर गर्दै मादी नदीको वारपार गरेको उनले बताए । बोटेहरुले निर्माण गरेको बाँसको पुल भएर दर्शकहरु वारपार गर्नेको लावा लस्कर पनि राम्रै देख्न सकिन्थ्यो । आयोजकले दर्शक चापका कारण महोत्सव १ दिन थप गर्ने तयारी गरेको छ । पुस ४ गते महोत्सवको समापन गर्ने सम्भावना रहेको बताइएको छ ।
महोत्सव स्थल भोलि चर्चित गायिका प्रिति आलेले तताउने
बिहिबार प्रथम दमौली पाटन सांस्कृतिक महोत्सवमा चर्चित गायिका प्रिति आलेले महोत्सव स्थल तताउने भएकी छन । उक्त दिन प्रिति आलेको बेजोड प्रस्तुति रहने पाटन युवा क्लबका अध्यक्ष अमर थापाले बताए । उक्त दिन स्थानीय कलाकारहरु केशरबहादुर अधिकारी, सुवाष गुरुङ, रमाकान्त ढुंगाना, सावित्री हड्खले लगायतका कलाकारहरुले आ आफ्नो प्रस्तुति पस्कने चर्चित गायक विन खातीले बताए ।