ऑबुखैरेनी । तनहुँको ऑबुखैरेनीमा बुधबारदेखि सुरु भएको मतदाता नामावली संकलन अभियानमा ५५ जनाको विवरण दर्ता भएको छ । दोस्रो चरणको अभियान अन्तरगत पहिलो दिन ५५ जनाको विवरण दर्ता भएको हो ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत निरोज श्रेष्ठका अनुसार बुधबार र बिहीबार वडा नम्बर ३ का व्यक्तिहरुको विवरण दर्ता गरिनेछ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलका अनुसार पुस २ र ३ गते वडा नम्बर ४, पुस ४ र ५ गते वडा नम्बर २ र पुस ६ र ७ गते वडा नम्बर १ का व्यक्तिहरुको विवरण दर्ता गरिनेछ । पुस ८ र ९ गते भने छुट भएका सबै व्यक्तिले विवरण दर्ता गर्न पाउनेछन् । वडा नम्बर ५ र ६ को भने सबै दिनमा दर्ता गरिने पोखरेलले जानकारी दिए ।