वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छाड्दिन : मन्त्री श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि छाड्दिन : मन्त्री श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७८, बुधबार

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीका नाममा ठगी गर्नेलाई पानीमुनि गएपनि नछोड्ने चेतावनी दिएका छन् । एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालको नेतृत्वमा ज्ञापनपत्र बुझाउन मन्त्रालय गएका व्यवसायीहरुलाई
    मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्र मर्यादित, सुरक्षित, व्यवस्थित र बेथिति नियन्त्रण गर्न व्यवसायी उतिकै जिम्मेवार हुनुपर्ने बताए ।

    मन्त्री श्रेष्ठले गलत काममा संलग्न जोसुकै माथि राज्यले कानुनअनुसार कारवाहीको प्रक्रिया अघि बढाउने बताउँदै वैदेशिक रोगजारसम्बन्धी बेथितिको अनुसन्धान र कारबाही गर्ने छुट्टै प्रणाली स्थापना गर्ने तयारी गरिएको बताए । व्यवसायीहरुका जायज सुझावहरुलाई सरकारले
    ग्रहण गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

    मन्त्री श्रेष्ठले वैदेशिक रोगजारको क्षेत्रमा रहेका बेथिति रोक्ने, नयाँ प्रणाली स्थापित गर्ने, सुरक्षित र व्यवस्थित बनाउने आफ्नो योजनामा सहयोग गर्न व्यवसायीहरुलाई आग्रह गरे । वैदेशिक रोजगारीमा देखिएका विकृतिलाई कसरी न्यूनिकरण गर्न सकिन्छ भन्नेबारे मन्‍त्रालयले गठन गरेको कार्यदलले अध्ययन गरिरहेको उनले बताए । उनले वैदेशिक रोजगार व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा देखिएको भन्दै मर्जमा जान पनि सुझाव दिए ।

    मन्त्रालयका सचिव एकनारायण अर्यालले सरोकारवला सबै पक्षको संयुक्त पहलबाट वैदेशिक रोजगारीका चुनौतिहरु समाधान हुने बताए । सचिव अर्यालले वैदेशिक रोजगारीका क्रममा हुने विकृति, विसंगति र गैरकानुनी कामहरुलाई नियन्त्रण गर्न वैदेशिक रोजगार प्रहरी बनाउने योजना अघि बढाइएको बताए ।

    नेकपा(एकीकृत समाजवादी)का नेता उर्वादत्त पन्तले वैदेशिक रोजगारीका बेथिति रोक्न, नयाँ प्रणाली स्थापित गर्न र आम युवाको हितमा काम गर्न सर्वपक्षीय संयन्त्र निर्माण गरी काम गर्न सुझाव दिए । संगठनका अध्यक्ष सन्तकुमार लामाले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन सरकारलाई सहयोग गर्ने बताए। संगठनले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या र आफ्ना माग समेटेर मन्त्री श्रेष्ठलाई १६ बुंदे ज्ञापनपत्र बुझाएको थियो ।