कुखुरा खान पल्किएकाे चितुवा खाेरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कुखुरा खान पल्किएकाे चितुवा खाेरमा

    खबरपुञ्ज संवाददाता

    २९ मंसिर २०७८, बिहीबार

    दमाैली । तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटस्थित कुखुरा फार्म नजिक राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालयले एक हप्ता अगाडी राखेको खोरमा परेर बिहीबार बिहान भाले वयस्क चितुवा नियन्त्रणमा आएको हो ।

    खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव डिभिजन वन कार्यालय विमलनगरका प्रमुख सुरेश भुजेलले जानकारी दिए। उनका अनुसार उक्त चितुवा अन्दाजी आठ वर्षको छ ।

    स्थानीयवासी रामबहादुर तामाङको कुखुराको फार्ममा चितुवाले आक्रमण गरेर कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको थियो । “केही समयदेखि चितुवाले कुखुरा मार्न थालेपछि वन कार्यालयले खोर राखेको चितुवाको नियन्त्रण प्रयास गरेको थियो, आज बिहानै उक्त खोरमा चितुवा प¥यो,” भुजेलले भने।

    कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार गरेको जनाएको छ । केही वर्षयता तनहुँका विभिन्न भागमा चितुवाको आतङ्क छ । बस्ती छेउ आएर चितुवाले मानिसलाई आक्रमण गर्ने गरेको छ । साथै घरपालुवा जीवजन्तुमाथि पनि चितुवाको आक्रमण बढ्दो छ ।

    विसं २०७४ फागुन १ गते पहिलोपटक तनहुँमा भानु नगरपालिका–३ दोरदोरका ६ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो । त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका विभिन्न ठाउँमा एघार जना बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणमा पर्ने बालबालिका १२ वर्ष उमेरसम्मका छन् ।