म्याग्दे । इनरह्विल क्लव अफ न्युरोड पोखराले म्याग्दे गाउँपालिका–४ मनहरिस्थित पार्वती आधारभूत विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी सामग्री वितरण गरेको छ । क्लवले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई बुधबार छात्रवृत्ति वितरण गरेको हो ।
क्लवको तर्फबाट १३ हजार दुई सय, गीता केसीबाट एक हजार दुई, गंगाकुमारी पराजुलीबाट एक हजार दुई सय, निर्मला मल्ल जोशीबाट चार हजार आठ सय, लक्ष्मी बस्नेत अधिकारीबाट दुई हजार चार सय, मञ्जु केसीबाट दुई हजार चार सय प्रदान गरिएको थियो ।
विद्यालयमा अध्ययनरत १३ जनालाई छात्रवृत्ति र ७५ जनालाई शैक्षिक सामग्री वितरण गरिएको क्लवले जनाएको छ ।
कार्यक्रममा म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले विद्यार्थीको सिकाई उपलब्धी वृद्धि र पठनपाठनका लागि प्रेरणा प्रदान गर्न सहयोग गरेकामा क्लवलाई धन्यवाद ज्ञापन गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकुमार मल्लले छात्रवृत्ति र शैक्षिक सामग्री वितरणले विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने धारणा राखे ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सागर आचार्य, क्लवकी अध्यक्ष गीता केसी, निर्मला जोशी मल्ल लगायतले मन्तव्य राखेका थिए । क्लवले यसअघि २०७४ र २०७५ सालमा पनि छात्रवृत्ति र शैक्षिक सामग्री वितरण गरेको थियो ।