बिहानैबाट देशभर वर्षा, भोलिसम्म पानी पर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बिहानैबाट देशभर वर्षा, भोलिसम्म पानी पर्ने

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७८, बुधबार

    काठमाडौं । देशका धेरै स्थानमा आज वर्षा भइरहको छ । देशभर सामान्य देखि पूर्णतया बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    आज बिहानैबाट काठमाडौंमा वर्षा भइरहेको छ । “अहिले देशभर वर्षा भइरहेको छ । यो भोलि बिहानसम्म रहन्छ । काठमाडौंमा भने दिउँसो केही समय रोकिएर पुनः पानी पर्न सुरु हुनेछ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “आज बिहान ६ बजे काठमाडौंको तापक्रम ८.६ डिग्री सेल्सियस रहेको छ । तर, पानी पर्न रोकिएर बादल हटेपछि तापक्रम यो वर्षकै न्यून हुनसक्छ ।” 

    आजराति देशभर सामान्य देखि पूर्णतया बदली  रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम  वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना रहेको विभागको भनाइ छ । 

    “देशका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई/यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएको छ,” विभागले भनेको छ, “त्यसैले चिसोबाट बच्न र हिमपातवाट हुन सक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।”