भानुमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भानुमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारे अन्तरक्रिया सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७८, बुधबार

    दमाैली । इन्सेक तनहुँकाे आयोजनामा बुधबार भानु नगरपालिकामा स्थानीय तहको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारका सवालबारेमा सरोकारवाला विच अन्तरक्रिया कार्यक्रमको आयोजना गरियो ।

    कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाशराज पौडेलले संविधानले नै मौलिक हकको रुपमा समावेश गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारलाई नीति तथा कार्यक्रममा प्रथामिकताका साथ राखेर कार्यान्वयन गर्नुपर्ने बताए । यी विषय मौलिक हक मात्र नभएर नागरिकका आधारभुत अधिकार पनि भएको हुँदा भानु नगरपालिकाले पनि यसलाई उच्च प्राथमिकतामा राख्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

    दुई दिन अघि मात्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी सम्हालेका पौडेलले हालसम्म शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषयमा के कस्ता कामहरु भएको छ भन्ने बारेमा आफुले सम्बन्धित शाखा प्रमुखसँग बुझेर थप कार्यक्रमहरु सम्भव भए यसै आर्थिक वर्षमा र नभए आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए ।

    उनले विपन्न एकल महिला, अपाङ्गता भएका, अशक्त र असहायलाई स्वास्थ्य विमा निशुल्क गर्ने, प्राकृतिक प्रकोपको कारण क्षती भएकाहरुलाई राहत उपलब्ध गराउने, बैकल्पिक विधिको शिक्षणलाई प्राथमिकता दिने तथा स्वास्थ्य चौकीमा औषधीको पर्याप्तताको ग्यारेन्टीको विषयलाई तत्काल सम्बोधन गर्ने बताए ।

    नगरपालिकाले कार्यान्वयन गरेको शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम तथा योजनाहरुको बारेमा कार्यपत्र प्रस्तुत गर्दै नगरपालिकाका बरिष्ठ अधिकृत शुनिल पाण्डेले मानवअधिकार समुहको पटक पटकको ध्यानाकर्षण पछि आफुले शिक्षा, स्वास्थ्य, खाद्य र आवासमा उल्लेख्य कार्यक्रमहरु समावेश गरेको बताए ।

    जेष्ठ नागरिकलाई घरै दैलोमै स्वास्थ्य सेवा उपलब्धता, प्राकृतिक प्रकोप पीडितलाई राहत, बहुक्षेत्रीय पोषण कार्यक्रम सन्चालन, स्वास्थ्य र सरसफाईलाई उच्च प्राथमिकता, आधारभुत खानेपानीको उपलब्धता, व्यक्तिगत तथा सामुहिक सरसफाईको विशेष नीति, नमुना बाख्रा पालन, भैसी पालन तथा सिताके च्याउ खेतीलाई जोड, बिउ बिजन तथा अनुदान वितरण प्रक्रियालाई आधुनीकिरण तथा उत्पादनलाई निर्वाहमुखी भन्दा बजारमुखी बनाउने नीतिहरु सन्चालन गरिएको बताए । पाण्डेले खरको छानो मुक्त नगरपालिका घोषणाको तयारीमा रहेको जानकारी दिए ।

    सो कार्यक्रममा नगर कार्यपालिकाका सदस्य देवबहादुर भुजेलले शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार सम्बन्धि विषय कुनै एक संस्थाले दवाव दिनु पर्ने विषय भन्दा पनि नगरपालिका आफैले यसलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्नु पर्ने बताए । आफु पहिलो पटक यस विषयसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाएकोले यस भन्दा अघिको घटनाक्रमको बारेमा खासै जानकारी नभएपनि अव यस विषयलाई प्राथमिकतामा राखेर काम गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए ।

    नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले जनताको आवश्यकता र चाहाना अनुसार स्थानीय तहले नीति तथा योजनाहरु बनाउनु पर्ने बताए । शिक्षा, स्वास्थ्य, खाद्य र आवासको विषय निकै महत्वपुर्ण र नागरिकको नैसर्गिक अधिकारको विषय भएको हुँदा इन्सेकले जिल्ला स्तरबाट नै यसलाई घच्घच्याउँदै आएको पौडेलले बताए ।

    मानवअधिकार समुहका संयोजक कृष्णराज धमनीयाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, पुर्वाधार शाखाका शंकर रानाभाट, मानवअधिकार समुहकी सदस्य विष्णुकुमारी श्रेष्ठ, चिनीमाया प्रधान, रामबहादुर ढकाल लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा इन्सेक प्रतिनिधि प्रकाशचन्द्र भट्टराईले शिक्षा, स्वास्थ्य, खाद्य र आवाससँग सम्बन्धित कार्यक्रम र विषय बस्तुहरुको बारेमा सहजिकरण गरेका थिए ।