तनहुँका सात पालिका कोरोनामुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँका सात पालिका कोरोनामुक्त

    खबरपुञ्ज संवाददाता

    २१ पुष २०७८, बिहीबार

    दमाैली । तनहुँका सात पालिका कोरोनामुक्त भएका छन् । दश पालिकामध्ये तीन पालिकामा मात्रै सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी शङ्करबाबु अधिकारीले जिल्लामा पाँच जना मात्रै सक्रिय सङ्क्रमित रहेको जानकारी दिए । उनका अनुसार भानु नगरपालिकामा एक, व्यास नगरपालिकामा तीन र शुक्लागण्डकी नगरपालिकामा एक जना सक्रिय सङ्क्रमित छन् ।

    भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका र आँबुखैरेनी गाउँपालिका कोरोनामुक्त भएका छन् ।

    तनहुँमा हालसम्म पाँच हजार तीन सय ८४ जनामा कोरोना सङ्क्रमण भएकामा पाँच हजार दुई सय ४९ निको भएका छन् । वैशाख एकगतेदेखि यता एक सय ३० सङ्क्रमितको मृत्यु भएको कार्यालयले जनाएको छ ।

    एक लाख ३५ हजारले लगाए पूरा खोप

    जिल्लामा एक लाख ३५ हजार आठ सय २७ नागरिकले कोरोना विरुद्धको पूरा खोप लगाएका छन् । पहिलो मात्रा लगाउनेको सङ्ख्या भने एक लाख ९५ हजार दुई सय ९६ रहेको छ ।

    भानुका २१ हजार चार सय ७९, व्यासका २९ हजार एक सय ५६, शुक्लागण्डकीका १५ हजार दुई सय १९, भिमादका १४ हजार तीन सय २५, म्याग्देका ११ हजार सात सय ९१, घिरिङका छ हजार छ सय ७९, ऋषिङका नौ हजार ५३, देवघाटका छ हजार पाँच सय ६३, बन्दीपुरका नौ हजार एक सय ८७ र आँबुखैरेनीका १२ हजार तीन सय ७५ ले पूरा मात्राको खोप लगाएका छन् ।

    १५ प्रतिशत बालबालिकाले लगाएनन् मोडर्ना खोप

    यहाँका १५ प्रतिशत बालबालिकाले कोरोना विरुद्धको मोडर्ना खोप लगाएनन् । ३६ हजार नौ सय ५५ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएपनि ३१ हजार पाँच सय २५ ले मात्र खोप लगाएको कार्यालयले जनाएको छ ।

    भानुका तीन हजार दुई सय २०, व्यासका आठ हजार नौ सय १३, शुक्लागण्डकीका पाँच हजार छ सय १९, भिमादका दुई हजार आठ सय ७९, म्याग्देका एक हजार चार सय ६४, घिरिङका एक हजार दुई सय ५३, ऋषिङका दुई हजार एक सय १६, देवघाटका एक हजार पाँच सय ३४, बन्दीपरका दुई हजार दुई र आँबुखैरेनीका दुई हजार पाँच सय २५ ले मोडर्ना खोप लगाएका छन् ।