दमौली । तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटन प्रबद्र्धनका लागि बतास समूहको व्यास हिल्स प्रालिसँग सम्झौताको तयारी गरिएको छ । निजी साझेदारी ऐन अनुसार नगरपालिकाले व्यास हिल्स प्रालिसँग सम्झौताका लागि आवश्यक प्रकृया अगाडी बढाउने तयारी गरेको हो ।
व्यास हिल्स प्रालिबाट प्राप्त प्रस्तावलाई गण्डकी प्रदेश नीति तथा योजना आयोगसँग आवश्यक परामर्श गरी सम्बन्धित प्रस्तावकलाई प्रस्ताव थप स्पष्ट हुने गरी प्रस्तुत गर्न लगाइएको व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
उक्त प्रालिले मानुङकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव परेको छ । प्रालिले मानुङकोटमा रु चार अर्बको लगानी गर्ने गरी नगरपालिकामा प्रस्ताव पेश गरेको थियो । कम्पनीले पाटनबाट मानुङकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव गरेको छ । कम्पनीले यो परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा लिजमा दिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ ।
कम्पनीले ४० रोपनी लिजका लागि माग गरेको छ । कम्पनीले ग्लास पुल अर्थात् ‘सिसाको पुल’ बनाउने पनि प्रस्ताव गरेको छ । मानुङकोटमा जिपलाइनका लागि यसअघि पनि प्रस्ताव गएका थिए तर लगानीकर्ताले त्यसलाई निरन्तरता दिएनन् ।
कृषि मेला सञ्चालन गर्ने
व्यास नगरपालिकाले आगामी पुस ३० गतेदेखि माघ २ गतेसम्म दमौलीमा कृषि पशुपंक्षी उपज प्रदर्शनी मेला आयोजना गर्ने भएको छ । नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यपालिका बैठकले कृषि ज्ञान केन्द्र, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, घरेलु तथा साना उद्योग विकास कार्यालय, नेपाल बीउ व्यवसायी सङ्घ जिल्ला समितिसँग सहकार्य गरी मेला गर्ने निर्णय गरेको हो । मेलामा उत्कृष्ट कृषकलाई पुरस्कृत समेत गरिनेछ ।
बैठकले अन्तराष्ट्रिय सम्बन्ध विस्तार एवं पर्यटन प्रबद्र्धनका निम्ति विभिन्न देशको प्रतिनिधित्व एवं पहिचान खुल्ने गरी प्रतिकात्मक संरचना निर्माण गर्न व्यास नगरपालिका–१० मा रहेको शिशुवा भतेरीमा करिब एक हजार रोपनी जग्गामा डिप्लोम्याटिक गार्डेन निर्माण गर्ने भएको छ । त्यसका लागि अन्तर्राष्ट्रिय सङ्घसंस्थासँग समन्वय गरिनेछ ।
बैठकले लागत सहभागिताका योजनाहरु छनौट सम्बन्धमा छलफल गर्दा माग भई आएका योजनाहरुमा वडागत एक योजना अनिवार्य पर्ने गरी छनोट गर्ने निर्णय गरेको छ । यस्तै व्यास नगरपालिका भित्र सार्वजनिक जग्गा मिची घर टहरा बनाएको गुनासो आएकाले त्यस्ता घर टहराहरुको पहिचान गरि पन्ध्र दिन भित्र हटाउने निर्णय भएको नगरपालिकाले जनाएको छ ।