दमौली । अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न अन्तरजिल्ला सहकार्य गर्ने सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँमा शुक्रबार सम्पन्न तनहुँ र गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखको बैठकले सुरक्षा चुनौतिका विषयमा छलफल गर्दै अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति गरेको हो ।
बैठकले अन्तर जिल्ला अपराध रोकथाम, राजमार्ग सुरक्षा, प्राकृतिक स्रोत दोहन नियन्त्रणलगायत विषयमा सहमति भएको तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । सीमाका जिल्लाका नदीहरुबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् र ओसारपसार हुने गरेको गुनासो आउने गरेकाले त्यसलाई व्यवस्थित गर्न दुवै जिल्लाका सुरक्षा निकायबीच सहकार्य गर्ने विषयमा बैठकमा छलफल भएको थियो ।
“शान्ति सुरक्षाका चुनौतिका विषयमा छलफल गरी त्यस्ता विषयहरुमा सहकार्य गर्दै अगाडी बढ्ने निर्णय भएको छ”, उनले भने । निकट भविष्यमा हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी वातावरण सिर्जना गर्न राजनीतिक दलसँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याल, प्रहरी उपरिक्षक राजेन्द्रबाबु रेग्मी, गोरखाका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यलगायत सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।