दमाैली । व्यास नगरपालिका–१ भादगाउँमा सञ्चालित दुई दिने स्वास्थ्य शिविरबाट ५१ जना लाभान्वित भएका छन् । भादगाउँ दरै समाजको आयोजना तथा मेडी ट्रस प्याथोलोजी पोखराको सहयोगमा शुक्रबार र शनिबार सञ्चालित सशुल्क ‘होल बडी’ परीक्षणबाट ५१ जना लाभान्वित भएका हुन् ।
शरीरमा लाग्नसक्ने विभिन्न रोगको पहिचानका लागि स्थानीयवासीलाई ‘होल बडी’ स्वास्थ्य परीक्षण गर्नतर्फ प्रोत्साहित गर्ने उद्देश्यले कार्यक्रम गरिएको समाजले जनाएको छ । स्वास्थ्य परीक्षणका क्रममा यहाँका स्थानीयवासीमा टिजी (बोसोको मात्रा) बढी भएको पाइएको रिजनल अस्पतालका एमडिजीवी डा. पविन बरालले बताए ।
उनका अनुसार बोसोयुक्त खानेकुरा, अल्कोहल जस्ता पदार्थको सेवनमा न्यूनीकरण गर्नुपर्ने देखिएको छ । “यहाँका स्थानीयवासीहरुको कल्चरका कारण पनि बोसोको मात्रा बढी देखिएको हो, संस्कृतिले पनि उपभोग हुने भएकाले बोसोको मात्रा बढी देखिएको छ, सचेत भएमा डराउनुपर्ने अवस्था भने छैन,” डा.बरालले भने । आमनागरिकले वर्षको एक पटक होल बडी परीक्षण गराएमा समयमा नै रोगको निदान हुने र उपचारको पहुँचसम्म पुग्न सहज हुने उनले बताए ।
मधुमेह रोग, कलेजोको परीक्षण, मिर्गौलाको परीक्षण, रगतमा बोसोको मात्रा परीक्षण, पिसाबको तथा थाइराइडको परीक्षण गर्न स्थानीयवासीलाई सहज बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको भादगाउँ दरै समाजका अध्यक्ष चिज बहादुर दरैले बताए । “आमनागरिकलाई होल बडी टेस्टको समय समयमा गर्नुपर्छ भन्ने कुराको जानकारी गराउन आवश्यक छ, आफूमा भएको स्वास्थ्य समस्या समयमा पहिचान भएमा उपचारको दायरामा पुग्न सहज हुन्छ,” उनले भने ।
व्यास नगरपालिकाका ५१ जनाको स्याम्पल टेस्टको लागि रगत तथा पिसाब सङ्कलन गरिएको कार्यक्रमको समन्वयकर्ता शुभेच्छा तामाङले जानकारी दिइन् । उनले परीक्षण गरिएका रगत तथा पिसाबको रिपोर्ट अनुसार बोसोको मात्रा बढी भएको पाइएको बताइन् । यो शिविरबाट थाइराइडका बिरामीको सर्वेक्षणमा टेवा पुगेको चिकित्सकको भनाई छ ।