दमाैली । नेकपा एमाले तनहुँको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा श्रेष्ठको मात्रै उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।
यसअगाडी उपाध्यक्ष रहेका श्रेष्ठ नवौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए।
अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्या भन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कंडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।
आइतबार बिहान दावीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिए।