दमौली । तनहुँको व्यास नगरपालिका–११ दरैपधेरामा भएको हत्याको घटनामा संलग्न रहेको आरोपमा दुई युवा विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । कास्कीको पोखरा महानगरपालिका–८ बस्ने ३३ वर्षीय किरण कुमार गुरुङको हत्या अभियोगमा पक्राउ परेका दुई जना विरुद्ध शुक्रबार जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो ।
प्रहरीले व्यास नगरपालिका–११ दरैपधेरा बस्ने २३ वर्षीय पुजन नामले चिनिने आयुष तिवारी र १९ वर्षीय सङ्गम गुरुङविरुद्ध मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए ।
मृतकका बुबा पदमबहादुर गुरुङले कर्तव्य ज्यान सम्बन्धी मुद्दा शीर्षकमा किटानी जाहेरी दरखास्त दिएका थिए । मृतकको शवको दमौली अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको छ ।
गुरुङ हिजो मृत अवस्था भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । तत्कालै प्रहरीले दुई जनालाई अनुसन्धानका लागि पक्राउ गरेको थियो ।