दमौली । कोभिड–१९ को जोखिम बढेपछि तनहुँमा विद्यालय बन्द गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार जिल्लाका स्थानीय तहहरुले विद्यालय बन्द गर्न परिपत्र गरेका छन् ।
भानु नगरपालिकाले माघ २ गतेदेखि १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण तीव्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गरी सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसि) को सिफारिसमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पुस २६ र जिल्ला विपद् व्यवस्थापन समिति तनहुँको पुस २९ को निर्णय अनुसार भानुमा माघ २ गतेदेखि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।
विद्यालयमा कोभिड सङ्क्रमणको उच्च जोखिम देखिएकाले नगरक्षेत्रभित्र सञ्चालित विद्यालय बन्द गर्ने निर्णय गरिएको नगरपालिकाका शिक्षा शाखा प्रमुख धु्रवराज पौडेलले बताए । विद्यालयहरुमा सञ्चालन भइरहेको दोस्रो त्रैमासिक र अर्धवार्षिक परीक्षाहरु पूर्व निर्धारित समय तालिका बमोजिम जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी जेड आकारमा बसाइ व्यवस्थापन गरी सञ्चालन गर्न नगरपालिकाले आग्रह गरेको छ ।
म्याग्दे गाउँपालिकाले पुस ३० गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सबै विद्यालयलाई परिपत्र गरिसकेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । विदाको अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई नजिकको स्वास्थ्य केन्द्रमा खोप लगाउने व्यवस्था मिलाउन विद्यालय र अभिभावकलाई अनुरोध गरिएको छ ।
व्यास नगरपालिकाले पनि पुस ३० गतेदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । हिउँदे बिदा लगायतका बिदाहरुबाट कट्टी हुने गरी विद्यालय बन्द गर्न निर्देशन दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले बताए ।
बन्दीपुर गाउँपालिकाले माघ २ गतेदेखि १५ गतेसम्म विद्यालय गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख विष्णु खत्रीले बताए । विद्यालय बन्द रहँदा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ ले गरेको व्यवस्था बमोजिम सिकाई सहजीकरण गर्न अनुरोध गरिएको उनले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कोभिड– १९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस र शिक्षा, विज्ञान तथा मन्त्रालयको सूचना बमोजिम माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठनपाठन बन्द गराउन सबै पालिकालाई निर्देशन दिइएको बताए । पूर्व निर्धारित सेमेष्टर र वार्षिक परीक्षाको हकमा स्वास्थ्य मापदण्डको पालना गरि जेड आकारमा राख्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको अर्यालले जानकारी दिए ।