दमाैली । जनप्रतिनिधि तथा कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि तनहुँको आँबुखैरेनी गाउँपालिकाले सेवा प्रवाह बन्द गरेको छ । गाउँपालिकाले माघ ५ गतेदेखि ९ गतेसम्म गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा स्थगित गरेको हो ।
नियमित रुपमा सार्वजनिक सेवा प्रवाहमा कार्यरत १३ जना पदाधिकारी तथा कर्मचारीलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि सेवा प्रवाह बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्षको मङ्गलबारकाे निर्णय अनुसार उक्त निर्णय भएको हो ।
सम्बन्धित व्यक्तिसँग सम्पर्कमा रहेका गाउँपालिकाका कर्मचारी तथा पदाधिकारी होम क्वारेन्टिनमा बस्नुपर्ने भएकाले कार्यालयको सेवा स्थगित गरिएको बताइएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षाहरुको मापदण्ड अनिवार्य पालना गरी सुरक्षित रहन आग्रह गरेको छ ।
यसैबीच गाउँपालिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ पुगेको छ । गाउँपालिकामा आज गरिएको एन्टिजेन परीक्षणबाट १५ नयाँ सङ्क्रमित थपिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद पौडेलले जानकारी दिए ।