आँबुखैरेनी गाउँपालिकामा इजलास कक्ष सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    आँबुखैरेनी गाउँपालिकामा इजलास कक्ष सञ्चालन

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७८, शनिबार

    आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले न्यायिक इजलास कक्ष सञ्चालनमा ल्याएको छ । न्यायिक समितिको कार्य सम्पादनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले इजलास कक्ष सञ्चालनमा ल्याएको हो ।

    न्यायिक समितिमा छुट्टै इजलास कक्ष स्थापना गर्नुपर्ने कानूनी प्रावधान अनुरुप प्रभावकारी न्याय निरुपणका लागि इजलास कक्ष स्थापना गरिएको न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले जानकारी दिइन्।

    गाउँपालिकाको पुरानो भवनमा इजलास कक्ष बनाइएको छ । पुरानो भवनमा रहेको गाउँपालिकाका कार्यालय नयाँ भवनमा स्थानान्तरण भएपछि त्यस ठाउँमा इजलास कक्ष बनाइएको श्रेष्ठले बताइन्।

    इजलास कक्ष नहुँदा यस अगाडी उपाध्यक्षकै कार्यकक्षमा इजलास कक्ष थियो । “कोठाको अभावमा उपाध्यक्षकै कार्यकक्षमा जसोतसो इजलास कक्ष सञ्चालन भइरहेको थियो, त्यसले सेवा प्रवाहमा कठिनाई हुँदै आएको थियो,” श्रेष्ठले भनिन्, “छुट्टै इजलास कक्ष बनाएपछि न्याय निरुपणमा सहजता आउने विश्वास लिएका छौ ।”

    न्यायिक समितिले प्रत्येक हप्ताको शुक्रबार न्यायिक समितिको बैठक सञ्चालन गर्ने गरेको छ । उक्त बैठकमा न्यायिक समितिमा परेका विवादको निरुपण गर्ने गरिएको छ । गाउँपालिकाको न्यायिक समितिमा जग्गा विवाद, झैझगडा, श्रीमान् श्रीमतीबीचको हिंसाका घटना सम्बन्धी मुद्दा दर्ता हुने गरेको छ ।

    चालु आर्थिक वर्षको छ महिनाको अवधिमा न्यायिक समितिमा आठ वटा मुद्दा दर्ता भएकामा पाँच वटा मुद्दा फैसला भइसकेको छ । तीन वटा मुद्दा फछ्र्यौट हुन बाँकी छ । “दर्ता भएका मुद्दामा दुवै पक्षलाई राखेर छलफल गरेर विवाद समाधान गर्छौ,” श्रेष्ठले भनिन्। न्यायिक समितिको क्षेत्राधिकारभित्र पर्ने मुद्दाको छिनोफानो न्यायिक समितिबाटै गर्ने गरेको र क्षेत्राधिकार भन्दा बाहिरका मुद्दा अदालत पठाउने गरेको श्रेष्ठले बताइन्।

    स्थानीय शासन ऐन २०७४ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति गठन भएको छ । उक्त समितिमा चार जना सदस्य र एक जना परामर्शदाता रहनुभएको छ ।
    वडास्तरमा हुने विवादका घटना मिलापत्रका लागि गाउँपालिकाले ६ वटै वटामा मेलमिलाप केन्द्र स्थापना गरिसकेको छ । प्रत्येक मेलमिलाप केन्द्रमा ६÷६ जना मेलमिलापकर्ता सूचीकृत गरिएको छ । स्थानीय स्तरमा हुने विवादका घटना वडाबाटै मिलापत्र गराउन प्रयास गर्ने र त्यहाँ मिलापत्र हुन नसकेका मुद्दा मात्रै गाउँपालिकाको न्यायिक समितिसम्म आउने गरेको छ ।

    “गाउँपालिकाबाट सञ्चालन हुने मेलमिलाप कार्यक्रममा स्थानीय जनतालाई सम्मिलित गराई स्थानीय विवाद दिगो र प्रभावकारी रुपमा समाधान गर्ने संयन्त्रबाट सम्पादन गरिने कामलाई व्यवस्थित गराउन गत वर्ष नै वडास्तरमा मेलमिलाप केन्द्र सञ्चालनमा आइसकेको छ,” श्रेष्ठले भनिन् ।

    उक्त इजलास कक्षको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले शुक्रबार उद्घाटन गरे ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं ।