दमौली । एमसिसी पारित गर्ने सत्तारुढ गठबन्धनमा सहमति भएसँगै राजनीतिक माहोल तातेको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपालबीच एमसिसी पारित गर्ने सहमति भएको खबर सार्वजनिक भएसँगै राजनीति गर्माएको हो ।
एमसिसी पारित गर्ने नेताहरुबीच सहमति भएसँगै गठबन्धनकै तनहुँका नेता तथा कार्यकर्ताले विरोध सुरु गरेका छन् । नेकपा एसकी केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य कलिला खानले एमसिसी संसदमा टेवल गर्न नहुने बताइन् । सामाजिक सञ्जालमा सोमबार बिहान उनले एमसिसीको विरोध गरेकी हुन् ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्य अतिन्द्रकेशरी न्यौपानेले पनि एमसिसीको विरोध गरेका छन् । उनले भनेका छन्, “राष्ट्रभक्त नेपालीले भनौ नो एमसिसी ।”
माओवादीका केन्द्रीय सदस्य ओमकुमारी पौडेलले यथास्थितिमा एमसिसी टेवल गर्न नहुने बताइन् । “देश, जनता र राष्ट्रियता प्रमुख कुरा हो, बरु सभामुखले महाअभियोगको सामना गर्नुपर्छ टेवल गर्न हुँदैन,” उनले भनिन् ।