दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ । बीचमा रुख सहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नव आदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो ।
रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै आज बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष सन्जय श्रेष्ठले जानकारी दिए ।
दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिने भएको छ । “रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, अब रुखलाई संरक्षण गर्दै चौतारी निर्माण गर्छौ,” उनले भने ।
तनहुँसुरमा वनभोजका लागि पर्यटकको आगमन बढ्न थालेको र खानेपानीको समस्या देखिएकाले तीन दिनभित्र खानेपानीको व्यवस्था मिलाउन लागिएको छ । देउराली डाँडाको मुख्यभागमा रहेको ठाउँमा पाँच मिटरको नेपालको झण्डा एक हप्ताभित्र राखिने श्रेष्ठले बताए । यसैगरी दुवै चौताराको बीचमा पर्ने क्षेत्रको तल्लो भागमा सार्वजनिक शौचालय एक महिनाभित्र निर्माण गर्ने तयारी गरिएको छ । देउराली डाँडामा उद्यान निर्माणका लागि श्रेष्ठकै अध्यक्षतामा पाँच सदस्यीय गुरुयोजना समिति निर्माण गरिएको छ ।