तनहुँसुरको चर्चित चौतारा संरक्षणका लागि रकम उठ्न सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँसुरको चर्चित चौतारा संरक्षणका लागि रकम उठ्न सुरु

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७८, बुधबार

    दमाैली । तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरको चर्चित चौतारा संरक्षणका लागि रकम उठ्न थालेको छ । बीचमा रुख सहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नव आदर्श टोल विकास संस्थाले चौतारा संरक्षण गर्न लागेकामा विभिन्न व्यक्तिबाट रकम उठ्न थालेको हो ।

    रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै टोल विकास संस्थाले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको थियो ।

    दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिएसँगै रकम उठ्न सुरु भएको टोल विकास संस्थाका अध्यक्ष सन्जय श्रेष्ठले जानकारी दिए । उनका अनुसार चौतारी एवं प्रस्तावित उद्यान निर्माणका लागि सहयोग गर्नेमध्ये रु पाँच हजारभन्दा बढि दिनेको नामावली शिलालेखमा लेखिनेछ ।

    “रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक पर्यटकको चहलपहल ह्वात्तै बढेपछि रुखलाई संरक्षण गर्दै चौतारी निर्माण गर्न लागिएको हो । तनहुँसुरमा वनभोजका लागि पर्यटकको आगमन बढ्न थालेको र खानेपानीको समस्या देखिएकाले टोल विकास संस्थाले खानेपानीको व्यवस्था समेत मिलाउने भएको छ ।

    सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ । अन्य दिनको तुलनामा शनिबार सर्वसाधारणको बाक्लो भीडभाड हुने गरेको छ । तनहँुसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याविन जाली र वाल निर्माण कार्य पूरा भएको हो ।

    May be an image of outdoors and tree
    प्रस्तावित चाैतारा

    अब ऐतिहासिक तनहँुसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ ।

    कुल रु दश करोडको इष्टमेट भएपनि टेन्डर प्रक्रिया मार्फत् ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो । उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो ।

    कालोपत्र सडक मार्फत् अब तनहँुसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ । उक्त सडकको योजना छनौटका लागि तनहँु क्षेत्र नम्बर १ का तत्कालिन एमाले सांसद तथा वर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठको सहयोग रहेको छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।