दमाैली । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) गण्डकी प्रदेशले तनहुँका स्थानीय तहसँग साझेदारी अगाडी बढाएको छ । परिषद्ले जिल्लाका स्थानीय तहसँगको सहकार्यमा सीपमूलक तथा व्यावसायिक तालिम प्रदान गर्न थालेको हो ।
परिषद्को आयोजना र व्यास नगरपालिकाको सहकार्यमा व्यास–१ मा कुक सहायक, सिलाइकटाइ र पञ्चेबाजा तालिम बिहीबारदेखि सुरु भएको छ । परिषद् र व्यास नगरपालिकाबीच भएको द्विपक्षीय सम्झौता बमोजिम पहिलो चरणमा उक्त तालिम सुरु भएको हो ।
युवाहरुलाई लक्षित गरी २८ दिन (१६० घण्टा) लेभल एकको कुक तालिममा विभिन्न वडाका २० जनाको सहभागिता रहेको छ । उनीहरुलाई प्रदीप राईले प्रशिक्षण दिनुहुनेछ । प्रशिक्षणको २७औँ दिनमा राष्ट्रिय सीप परीक्षण बोर्ड (एनएसटीबी)ले लिने सीप परीक्षण उत्तीर्ण भएका प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गर्ने सिटिइभिटी गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले जानकारी दिए ।
उक्त तालिम दैनिक ६ घण्टाका दरले सञ्चालन हुने आयोजकले जनाएको छ । विभिन्न विषयका तालिम सञ्चालनका लागि वैदेशिक रोजगार बोर्ड र पोखरा प्राविधिक शिक्षालयबीच भएको सम्झौता अनुसार निशुल्क लेभल एक कुक तालिम सञ्चालन गरिएको हो ।
त्यस्तैगरी महिलाहरुलाई लक्षित गरी सिलाइकटाइ तालिम सुरु गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् र व्यास नगरपालिकाको सहयोगमा ६५ दिने(३९०घण्टे) सिलाइ कटाइ तालिम सुरु भएको हो । उक्त तालिममा व्यासका विभिन्न वडाका २० जनाको सहभागिता रहेको छ । सो अवधिमा महिलाहरुलाई सन्तोषी थापा र विष्णुमाया थापाले प्रशिक्षण दिनेछन् ।
यसैगरी पञ्चेबाजा तालिम पनि सुरु भएको छ । स्थानीय आवश्यकतामा आधारित उक्त तालिममा महिला र पुरुष दुवैको सहभागिता रहेको छ । एक महिने उक्त तालिममा रोशन वर्देवाले प्रशिक्षण दिनेछन् ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सिटिइभिटी र नगरपालिकाबीच भएको सम्झौताबमोजिम क्रमशः अन्य तालिमहरु पनि सञ्चालन गरिने बताए । स्थानीय समुदायको आवश्कयतालाई ध्यानमा राखेर सीप हस्तान्तरणका कार्यक्रमहरु अघि बढाइने न्यौपानेले बताए । नेपाली समाजमा विगतदेखि नै सांस्कृतिक कार्यक्रमहरुमा बाजाको छुट्टै महत्व रही आएकाले पनि बाजा बजाउने सीपले राम्रो आम्दानीको स्रोत सिर्जना गर्ने उनले विश्वास व्यक्त गरे।
परिषद्का गण्डकी प्रदेशका निर्देशक प्रमोदभक्त आचार्यले तालिममा सिकेका सीपलाई पेशा व्यवसायको रुपमा निरन्तरता दिन सके मात्र तालिमको प्रभावकारिता बढ्ने बताए। छोटो अवधिको सीपमूलक तालिम मार्फत युवाहरूको पेशागत र व्यावसायिक दक्षता अभिवृद्धि गरी रोजगारी वा स्वरोजगारी गराउन सिटिइभिटीले प्रदेशको सबै पालिकाहरुसँग सहकार्य गर्न चाहेको जानकारी गराउँदै उनले भने, “हामीले व्यासमा द्विपक्षीय समझदारी गरेपछि धेरै पालिकाहरुबाट त्यस्तो खालको प्रास्ताव आएको छ ।”
युवाहरुलाई स्वरोजगार बनाउने सन्दर्भमा प्राविधिक तालिम दिने मात्र नभई सिटिइभिटीले युवा स्वरोजगार कोष मार्फत न्युनत्तम व्याजदारमा दुई लाखदेखि १० लाखसम्मको ऋणको व्यवस्था समेत गर्न सकिने आचार्यले बताए ।