शुक्लागण्डकी नगरपालिकाले बनायो जलस्रोत ऐन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    शुक्लागण्डकी नगरपालिकाले बनायो जलस्रोत ऐन

    खबरपुञ्ज संवाददाता

    २७ माघ २०७८, शुक्रबार

    दुलेगाैडा । शुक्लागण्डकी नगरपालिकाले जलस्रोत ऐन २०७८ बनाएको छ । नगरपालिकामा रहेका जलस्रोतको समुचित उपयोग र संरक्षण गर्नलाई नगरपालिकाले जलस्रोत ऐन बनाएको हो ।

    संघीय सरकारबाट स्वीकृत जलस्रोत ऐन २०४९ को दफा क अनुसार नगरको विधायन समितिले बनाएको ऐन बिहीबारकाे कार्यपालिका बैठकले स्वीकृत गरेको थियो । शुक्रबार भएको १० औँ नगर सभाबाट जलस्रोत ऐन पारित भएको नगर प्रवक्ता खिमबहादुर कुमालले बताए । समुदायमा स्वच्छ खानेपानीको व्यवस्था गराउन र खानेपानीमा हुने वातवरणीय तथा हानिकार प्रभाव रोक्दै जलस्रोतलाई प्रदुषमुक्त बनाउन ऐन बनाईएको उनले जानकारी दिए ।

    १० औँ नगर सभाले जलस्रोत ऐनसँगै तीन कार्यविधी पनि पारित गरेको कुमालले बताए । कुमालका अनुसार भवन निर्माण अनुमति प्रकृयाको कार्यविधी २०७८, भवन अभिलेखीकरण सम्बन्धी कार्यविधी २०७८ र खानेपानी तथा सरसफाई उपभोक्ता समिति दर्ता तथा नविकरण व्यवस्थापन कार्यविधी २०७८ पारित गरिएको हो ।

    नगर सभाले एक करोड ४४ लाख ८९ हजार ९७९ रुपैयाँ बेरुजु पछ्र्यौट गरेको छ । आर्थिक बर्ष २०७६÷७७ सम्म अन्तिम लेखा परिक्षणबाट औल्याईएको नियमित गर्नुपर्ने बेरुजु मध्य उपलब्ध प्रमाण र कागजातको आधारमा बेरुजु पछ्यौट गरिएको लेखा समिति संयोजक राजेन्द्र भट्टराई क्षेत्रीले बताए । बाँकी बेरुजु पछ्र्यौट गर्नलाई बेरुजु पछ्र्यौट समिति तत्काल गठन गर्न उनको सुझाव छ ।

    नगरसभामा बोल्दै नगर प्रमुख किसान गुरुङले पाँच वर्षमा विकासको जग बसाल्न सफल भएको बताए । आफ्नो कार्यकालको अन्तिम नगरसभामा बोल्दै गुरुङले जनप्रतिनिधि र कर्मचारीले जनतामाथि खेलवाड गर्न नहुने बताए । आफुहरुले पाँच बर्षमा गरेका कामको जनताले समिक्षा गर्ने उनको भनाई छ ।

    शुक्लागण्डकी नगरपालिका–६ का वडा सदस्य बुद्धिबहादुर थापाले पाँच वर्षे कार्यकालमा गौरवका आयोजना भन्न मिल्ने काम खासै गर्न नसकेको बताए ।