सजिव कुचीकार गिद्धको संरक्षणमा सरोकारवालाको लापरवाही
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सजिव कुचीकार गिद्धको संरक्षणमा सरोकारवालाको लापरवाही

    अस्मिता खनाल

    १ फाल्गुन २०७८, सोमबार

    दमाैली । प्रकृतिको सजिव कुचिकारका रुपमा परिचित गिद्धको संरक्षणमा जानकार सरकारी निकायहरु नै गैरजिम्मेवार देखिएका छन् । सिनो खाएर वातावरणलाई स्वच्छ बनाउन सहयोग गर्ने गिद्ध पारिस्थितिक पद्वतिको अति नै महत्वपूर्ण हिस्सा हो ।

    गिद्धले सिनो लाई आहारा बनाउने हुनाले मरेका जिवहरुका कारण वातावरणमा फैलने दुर्गन्ध र महामारीबाट बच्न सकिन्छ । संरक्षण गरिनुपर्ने गिद्ध सरोकारवालाको लापरवाहीको कारण धमाधम मर्दैछन् । विकास निर्माण वातावरणमैत्री हुन नसक्दा गिद्धका लागि पासो बन्दैछ । सरकारले गिद्ध संरक्षणका लागि बनाएको कार्ययोजना कागजमा मात्र सीमित बनेको छ ।

    लोप हुदैं गईरहेका गिद्धका विभिन्न प्रजाति जोगाउन संसारभर विभिन्न प्रयास हुदै आएको छ । नेपाल सरकारले पनि गिद्ध संरक्षणका लागि कार्ययोजना नै बनाएर लागु गरेको छ । तर कार्यान्वयनमा जिम्मेवार नभएको तनहुँमा घटेको एक घटनाले पुष्टि गरेको छ ।

    पृथ्वी राजमार्ग विस्तार आयोजना अन्र्तगत तनहुँको शुक्लागण्डकी २ गाछेपानीमा सडक छेऊ रहेको ठुलो सिमलको रुख काट्ने क्रममा अति संकटापन्न सुचीमा रहेको सानो खैरो गिद्धको चल्ला मरेपछि संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गरेका छन् । ढालिएको उक्त सिमलको रुखमा गिद्धको सानो खैरो प्रजातीले गुँड लगाएर चल्ला हुर्काउँदै थियो ।

    सानो खैरो गिद्ध विश्वमा नै अति संकटापन्न अवस्थामा छ। नेपालमा यो गिद्धको संख्या जम्मा ५० देखि ७५ वटा सम्म रहेको पंक्षी समाज पोखराले जानकारी दियो । एक सिजनमा एक पटक, एउटा मात्रै अण्डा पार्ने र अण्डा कोरली चल्ला उडाउन महिनौं लाग्ने भएकाले यसको गुडँ जोगाउन अति आवश्यक हुने संरक्षणकर्मी बताउँछन् ।

    पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालका अनुसार काटिएको सिमलको रुखमा रहेको गुँडमा हुर्किरहेको चल्ला आउने वैशाख÷जेठमा उड्न सक्थ्यो । चल्ला उड्ने अवधिसम्म रुख नकाट्न पंक्षी समाजले शुक्लागण्डकी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो । उक्त पत्रको वोधार्थ सडक डिभिजन कार्यालय दमौलीलाई समेत प्रेसित गरेको पंक्षी समाजले जनाएको छ । तर नगरपालिका र सडक डिभिजन कार्यालय दुवैले गुँड संरक्षणका लागि केही पहल गरेनन्।

    पृथ्वी राजमार्गको छेउमा रहेको सिमलको रुखमा गुँड बनाउँदै गरेको गिद्द । फोटोः राधिका कडेंल

    पुस २० गते पत्र बुझ्ने बेला रुख सरक्षणका लागि समन्वय गर्ने आश्वासन दिएका शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले पत्र केबल कार्यालयमै सीमीत राखे । उता सडक विभागले पनी पत्र पायो, थन्क्यायो । अरु केही गरेन । “ठुला आयोजनाहरु संचालन गर्नु पुर्व वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार पार्दा संवेदनशील हुनुपर्छ, राजमार्गको छेऊमा भएको संकटापन्न गिद्धको बारेमा सरकारी निकायलाई चासो नहुनु अत्यन्तै दुखद् कुरा हो” अन्तराष्ट्रिय प्रकृति संरक्षण समितिको गिद्ध विज्ञ समूहका सदस्य समेत रहेका पोखरा पंक्षी समाजका सचिव हेमन्त ढकालले भने ।

    शुक्लागण्डकी नगपालिका र सडक डिभिजन कार्यालयले गिद्ध जोगाउन भूमिका खेलेनन् । तर वन र वन्यजन्तुको प्रर्वद्वनको जिम्मा पाएको डिभिजन वन कार्यालय तनहुँले समेत गाछेपानीको सिमलको रुखमा गिद्धको गुँड भएको पत्तो समेत पाएनछ । यदि गिद्धको गुँड भएको बारे जानकारी पाएको भए सिमलको रुखलाई चल्ला हुर्किदासम्म जोगाउन सकिने कार्यालयले बताएको छ ।

    पृथ्वी राजमार्ग विस्तारको क्रममा दायावाया रहेको ६ हजार ७ सय ५०रुख तनहुँ खण्डमा मात्रै काटिनेछ । वन कार्यालयबाट कटान आदेश पाईसकेकोले आयोजनाले पनि रुख काट्नु अघि केही सोचेन । रुख काट्ने ठेक्का पाएकाले चल्लासंगै बसेको माउ गिद्ध लखेटे र रुख काटे । जिम्मेवार सरकारी निकायको वेवास्ताको कारण अति नै महत्वपुर्ण सानो खैरो गिद्धको हुकैदै गरेको चल्ला पखेंटा नलाग्दै मरेको छ ।

    वन कार्यालयले गिद्दको वासस्थान बारे अध्ययन गरिरहेका संरक्षणकर्मी र त्यसबारे जानकारी पाएको स्थानीय सरकारले कार्यालयलाई जानकारी नगराएको गुनासो गरेको छ । “रुख काट्दा संकटापन्न गिद्दको चल्ला मरेको घटनाले वन कार्यालयलाई थप सचेत वनाएको छ, आगामी दिनमा रुख कटान आदेश दिनुभन्दा पहिले रुखमा पंक्षीहरुको गुँड भए नभएको बारे राम्रोसंग अध्ययन गर्नेछौ,” जिल्ला वन अधिकृत कोमलराज काफ्लेले भने ।

    राज्यले वन्यजन्तुको सुरक्षा र विकासमा धेरै बजेट खर्चेको छ । तर राज्य संयन्त्रका निकायहरु विच नै आवश्यक समन्वय नगर्नुले सरकार यसतर्फ गम्भीर नभएको प्रष्ट हुन्छ । संरक्षणकर्मीको नाममा बर्षौ यसैको अध्ययन अवलोकन गरेर हिडिंरहेका र प्रकृति संरक्षण संग सम्बन्धित अन्तराष्ट्रिय स्तरका समितिहरुमा नेपालको प्रतिनिधत्व गर्नेहरुले पनि जनस्तरसम्म गिद्दको महत्व वोध गराउन केही न केही कसर बाकिँ राखेकै छन् । आफूमा भएको ज्ञान विस्तार गर्ने भन्दा पनि लुकाएर राख्ने प्रवृतिले त्यस्ता संकटापन्न जिवहरुको वासस्थान वरपरका मानिसहरु सम्म समेत चेतना पुगेको छैन ।

    शुक्लागण्डकी गाई संरक्षण केन्द« नजिकै देखिएको गिद्द । फोटोः राधिका कडेंल

    तनहुँ गाछेपानीको सिमलको रुख काटिएर एउटा चल्ला मरेको घटनाले जसरी चर्चा पाईरहेको छ, त्यो भन्दा विकराल समस्याका रुपमा गिद्दहरु करेन्ट लागेर मर्ने गरेको तथ्य उजागर छ । तनहुँमा छाडा गाई गोरुहरुको व्यवस्थापनका लागि खोलिएका गाई संरक्षण केन्द« वरपर गिद्दले वासस्थान बनाएका छन् । मरेका गाई गोरु आहारा बनाउने गिद्दहरु गौशाला वरपर बस्दछन् । तर गौशालाहरु नजिक रहेका विद्युतका हाईटेन्सन लाईनमा ठोक्किदाँ गिद्दहरु करेन्ट लागेर मर्ने गरेका छन् । व्यास नगरपालिकाको वडा नं. १० भतेरीमा रहेको गौशाला नजिकैको हाईटेन्सन लाईनमा ठोक्किदा एकैदिन ३ वटा सम्म गिद्द मर्ने गरेको स्थानीयले बताएका छन् । यस्तै गौशालालाई काडेँतारवारले घेर्दा गिद्दहरु घाईते हुने गरेका छन् । गौशाला बनाउनु पहिले त्यो स्थान गिद्दका लागि कति सुरक्षित छ भन्ने तर्फ पनि ध्यान दिनुपर्छ ।

    पोखरा पंक्षी समाजले शुकलागण्डकी नगरपालिकालाई बुझाएको ज्ञापन पत्र ।

    पर्यावरणीय सन्तुलनका लागि अत्यन्तै महत्वपुर्ण गिद्दको संरक्षणमा राजयले ध्यान नदिने हो भने गिद्द संगसंगै मानव समुदायको पनि अस्तितव संकटमा पर्दै जानेछ । नेपालमा ९ प्रकारका गिद्दहरु पाईन्छन् । जसमध्ये केही प्रजातीका गिद्दहरु विश्वमा नै अति संकटापन्न पंक्षीको सुचीमा परेका छन् । नेपालमा पाईने सानो खैरो प्रजातीको गिद्द संरक्षण नगरे अवको ५ वर्षमा संसारबाटै लोप हुने अवस्थामा रहेको पंक्षी विज्ञ बताउँछन् ।