टोल-टोलमा भत्ता र खोप
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    टोल-टोलमा भत्ता र खोप

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दुलेगौडा । संघीयता कार्यन्वयनसँगै ‘सिंहदरबारको अधिकार गाउँमा’ आएको भनिन्छ । संघीयताले झन् गाउँमा पाउने सामाजिक सुरक्षा भत्ता लिनलाई शहरको बैंकसम्म पुग्नैपर्ने बाध्यता छ । गाउँबाट शहर झरेर बैंकको लाइनमा घण्टौँ बसेर भत्ता लिनलाई सकस हुने गर्दछ ।

    अशक्त ज्येष्ठ नागरिक र अपांगता भएकालाई जिल्लाका एक वडाध्यक्ष टोल टोलमै सामाजिक सुरक्षा भत्ता दिएका छन् । भिमाद नगरपालिका–९ का वडाध्यक्ष ईमानबहादुर थापाले बैंकसँगको सहकार्यमा टोल टोलमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेका हुन् । उनले शुक्रबार वडा कार्यालयमा आउन सक्नेलाई वडामै र नसक्नेलाई टोल टोलमा लगेर भत्ता बाँडे ।

    मेगा बैंक भिमाद शाखासँगको सहकार्यमा १५५ जनालाई वडा र टोलबाट भत्ता वितरण गरेको वडाध्यक्ष थापाले बताए । उनका अनुसार भत्तासँगै ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको बुस्टर खोप पनि लगाईएको छ ।

    ‘दोस्रो त्रैमासिकको सामाजिक सुरक्षा भत्ता बाडिएको । धेरै जना शारीरिक समस्याका कारण गाडी चढेर भिमाद बजार पुगेर बैंकमा लाइन बसेर भत्ता बुझ्न नसक्ने अवस्थाको हुनुहुन्छ । हामीले बैंकसँग सहकार्य गरेर सहज बनाईदिएका हौँ’, उनले भने । यसरी गाउँ टोलमै भत्ता पाएपछि ज्येष्ठ नागरिक खुशी हुने वडाध्यक्ष थापाले बताए ।

    भत्तासँगै ज्येष्ठ नागरिकलाई टोलटोलमै पुगेर कोरोनाको बुष्टर खोप समेत लगाईएको वडा सदस्य बाबुराम रानाले जानकारी दिए । उनका अनुसार २६२ जना ६५ बर्ष उमेर माथिका ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको तेस्रो डोज अर्थात बुस्टर खोप लगाईएको हो । आधारभुत स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीले टोलटोलमै पुगेर बुस्टर खोप लगाईदिएको उनले बताए ।

    उनले अगाडी थप्दै भने, ‘संघीयताको मर्म अनुसार सिंहदरबारको अधिकार गाउँमै पाएको प्रत्याभूति पनि हुन्छ उहाँहरुलाई ।’ वडाध्यक्ष थापाले वडाका ज्येष्ठ नागरिक र अपांगता भएका सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीलाई आफू निर्वाचित भएर आए लगत्तै घरघरै र टोल टोलमै उपलब्ध गराउदै आएका थिए ।