प्रधानमन्त्री रोजगारका लागि सूचीकृत हुन निवेदन माग्दै तनहुँका स्थानीय तह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रधानमन्त्री रोजगारका लागि सूचीकृत हुन निवेदन माग्दै तनहुँका स्थानीय तह

    खबरपुञ्ज संवाददाता

    ७ फाल्गुन २०७८, आईतवार

    दमाैली । तनहुँका स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि सूचीकृत हुन निवेदन माग गरेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सहयोगमा सञ्चालन हुने कार्यक्रमका लागि स्थानीय तहले सूचीकृत हुने बेरोजगारलाई निवेदन माग गरेको हो ।

    जिल्लास्थित आँबुखैरेनी गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिकाले बेरोजगार सूचीमा सूचीकृत हुन आग्रह गरेको छ ।

    एक सय दिनका लागि प्रदान गरिने रोजगारका लागि काम गर्न इच्छुक व्यक्तिहरुले फागुन १ देखि मसान्तसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले बताए ।

    निवेदन दिन इच्छुक व्यक्तिहरुले नागरिकको एक प्रति फोटोकपी, एक प्रति फोटो, नागरिकता अन्य स्थानीय तह वा जिल्लाबाट जारी भएको भए विवाह दर्ता वा बसाइँसराइँ, परिवारको वार्षिक आय खुल्ने विवरण पेश गर्नुपर्नेछ ।

    म्याग्दे गाउँपालिकाले पनि सूचना प्रकाशित गरी फागुन १ देखि ३० गतेभित्र सम्बन्धित वडा कार्यालयमा गई बेरोजगारमा सूचीकृत हुन निवेदन माग गरेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए । बेरोजगार सूचीमा सूचीकृत भएकालाई न्यूनतम एक सय दिनको रोजगारी प्रदान गरिने उनले बताए ।

    देवघाट गाउँपालिकाले न्यूनतम रोजगारीमा संलग्न भई सार्वजनिक विकास निर्माणका काममा योगदान गर्न इच्छुक १८ देखि ५९ वर्षसम्मका बेरोजगार व्यक्तिलाई फागुन मसान्तसम्म आफूले बसोबास गरेको वडामा बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन अनुरोध गरेको छ । सूचीकृत भएकालाई गाउँपालिकाले एक सय दिनको रोजगारी दिने प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले बताए ।

    बन्दीपुर गाउँपालिकाले पनि रोजगारीको हक सम्बन्धी नियमावली २०७५ को नियम ७ बमोजिम तथा प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन निर्देशिका २०७५ (दोस्रो संशोधन २०७८) बमोजिम आगामी आर्थिक वर्षमा न्यूनतम रोजगारीमा संलग्न भई निवेदन माग गरिएको प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताए ।

    निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारीमा संलग्न नभएका व्यक्तिलाई कार्यक्रममार्फत् रोजगारी दिइनेछ । स्वरोजगारमा संलग्न व्यक्तिको हकमा निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारी बापत प्राप्त गर्ने नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक बराबरको आय भन्दा कम आय भएको हुनुपर्ने बताइएको छ ।

    रोजगारीको हक सम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम सय दिनको रोजगारी पाउनेछन् । जिल्लामा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् नाला मर्मत, पैदलमार्ग निर्माण, पोखरी निर्माण, चौतारी निर्माण लगायतका काम हुँदै आएको छ ।