दमाैली । तनहुँको व्यास नगरपालिका–८ बर्लाचीमा साेमबार बिहान चितुवा मृत अवस्थामा फेला परेको छ । भाले बयस्क चितुवा मृत अवस्थामा फेला परेको हो ।
भाले प्रजातिको अन्दाजी १०÷१२ वर्षको चितुवा मृत अवस्थामा फेला परेको सव डिभिजन वन कार्यालय व्यासका प्रमुख नारायण कोइरालाले जानकारी दिए । भिरबाट लडेर वा आपसी द्वन्द्वका कारण चितुवाको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीयवासीले मृत अवस्थामा चितुवा फेला परेपछि वन कार्यालयमा खबर गरेका थिए । चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा राखिएको छ । “के कारणले चितुवाको मृत्यु भयो भन्ने बारेमा अनुसन्धानबाट खुल्नेछ,” कोइरालाले भने ।
विगत डेढ वर्षको अवधिमा तनहुँका विभिन्न स्थानमा मृत फेला पर्ने चितुवाको सङ्ख्या दश पुगेको छ । डिभिजन वन कार्यालयका अनुसार भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–९ बाइसजाँगर, भानु नगरपालिका–७ बगैचागाउँ, भानु नगरपालिका–४ कुमालगाउँ, भानु नगरपालिका–७ बसन्तपुर, म्याग्दे गाउँपालिका–१ गुणादी, व्यास नगरपालिका–५ पतेनीमा चितुवा मृत अवस्थामा फेला परेको थियो ।
सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । प्रेषित समाचार अन्य सञ्चारमाध्यमले जस्ताको तस्तै साभार गरेको पाइएकाले स्रोत नखुलाई त्यसो नगर्न हुन अनुरोध गर्दछौं ।