दमाैली । तनहुँ जिल्ला फुटबल सङ्घ (एन्फा) को आयोजनामा भिमादमा जारी जिल्लास्तरीय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज तीन खेल सम्पन्न भएका छन् । आज भएको खेलमा लिगको शीर्ष स्थानमा रहेको अजम्बरीले पहिलो खेल हारेको छ ।
अजम्बरी क्लव र दोभान क्लवबीच भएको खेलमा दोभान १–० ले विजयी भएको छ । दोस्रो खेल अलस्टार क्लव र भिमाद क्लवबीच भएकामा भिमाद २–० ले विजयी भएको छ भने तेस्रो खेल नवमित्रता क्लव र पुलजीप क्लवबीच भएकोमा नवमित्रता २–१ ले विजयी भएको छ ।
लिग अन्तर्गत बुधबार हैरान्स र मस्र्याङ्दी तथा खैरेनीटार र अलस्टार क्लवबीच खेल हुने सङ्घका उपमहासचिव टिकाराम पनेरुले जानकारी दिए ।
बिहीबार लिगको दुई वटा सेमिफाइनल खेल सञ्चालन हुनेछ । समूह ए को विजेताले समूह वि को उपविजेता र समूह ए को उपविजेताले समूहको वि को विजेतासँग सेमिफाइनल खेल खेल्नेछ ।
हालसम्म समूह ए अन्तर्गत दोभानको १०, अजम्बरीको ९, अकलाको ४, हैरान्सको १, मस्र्याङ्दीको १ अङ्क छ । समूह वि अन्तर्गत अलस्टारको ६, खैरेनीटारको ६, भिमादको ८, नवमित्रताको ४ र पुलजीपको १ अङ्क रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद रु एक लाख र द्वितीय हुनेलाई नगद रु ५० हजार र ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने सङ्घले जनाएको छ ।