दमाैली । तनहुँको व्यास नगरपालिकाले दुम्सीमा नगर स्तरीय कोभिड अस्पताल निर्माण सुरु गरेको छ । व्यास–१० स्थित पिसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगर स्तरीय कोभिड अस्पतालको भवन निर्माण सुरु गरेको हो ।
उक्त भवनको शुक्रबार नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शिलान्यास गरेका छन् । सो अवसरमा वरिष्ठ नेता पौडेलले सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताए । स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने भन्दै वरिष्ठ नेता पौडेलले भने, “संविधानले व्यवस्था गरे बमोजिमको सङ्घीयताले आज जनताले वडा–वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।”
स्वास्थ्यको क्षेत्रमा सिंहदरवारले मात्र केही गर्न नसकेको बताउँदै उनले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताए । सङ्घीयता सार्थकसिद्ध भएको चर्चा गर्दै उनले भने, “कोभिड अस्पतालले यस क्षेत्रका वासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास लिएको छु ।”
वरिष्ठ नेता पौडेलले महामारीले जनतालाई सचेत बनाएको बताउँदै तीनवटै सरकारको पहिलो मुद्दा अहिले स्वास्थ्य क्षेत्र रहेको उल्लेख गरे । “पर्यावरण राम्रो राख्नुपर्ने चुनौति देखा परेको छ, प्रकृतिलाई बिगारेका कारण स्वास्थ्यमाथि आक्रमण भइरहेको छ,” उनले भने ।
जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड–१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताए ।
कोभिड–१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पिसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको उनले बताए ।
रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि टेण्डर आह्वान गरेपनि रु ८९ लाख ९४ हजार तीन सय १४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ । आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ ।
अस्पताल २५ शय्या क्षमताको हुनेछ । अस्पताल भवनमा चिकित्सकको आवास समेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।