दमाैली । नेपाली काँग्रेसका नेता गोविन्दराज जोशीले सत्ता खोज्नेलाई भन्दा सिद्धान्त रोज्नेलाई साथ दिन जनतासँग आग्रह गरेका छन् । विपी विचार समाज आँबुखैरेनी गाउँपालिकाको प्रथम अधिवेशनको शुक्रबार उद्घाटन गर्दै जाेशीले भने, ‘विपी काेइरालाले नेपाली कांग्रेसको स्थापना गर्दा विचार र सिद्धान्तलाई प्राथमिकता दिनुभयो र विपीकाे विचार र सिद्धान्त मुटु हो भने नेपाली काँग्रेस पार्टी हात खुट्टा भएको हाे ।’
‘यदि म र मेरो समूह विपीकाे विचारलाई लिएर चुनावमा जाँदै छ भने तपाई कार्यकर्ताहरुले बीपीको विचार रोज्ने कि नेपाली काँग्रेस रोज्ने यो कुरा निर्णय गर्नु पर्ने समय आएको छ’ नेता जोशीले भने । जोशीले विपीका विचार र सिद्धान्त बोकेका आफू र आफ्ना साथीहरुलाई विजयी गराउन कार्यकर्ताहरुलाई अनुरोध गरे ।
विगतमा दुई तिहाई बहुमत ल्याएको कांग्रेस अहिले चुनावको लागि कुन पाटीसँग गठजोड गर्ने भनेर अन्यौलको अवस्थामा आउनु कांग्रेस नेतृत्व माथि जनताको अविश्वास भएकाे जाेशीकाे भनाई थियाे ।
काङ्गग्रेस नेता रामचन्द्र पौडेलको हाल भईरहेको तनहुँ भ्रमणलाई व्यङ्ग्य गर्दै जाेशीले जसले जिल्लामा एउटा योजना दिएको छैन, उसैले योजनाको निरीक्षण गर्ने भनेर प्रश्न गरेका थिए ।
कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले गोविन्दराज जोशीलाई ससम्मान पार्टीमा स्थान नदिई चुनावमा गएमा तीनै तहको चुनाव जित्न नसक्ने धारणाा राखे ।
कार्यक्रममा विपी विचार समाज तनहुँका सचिव हरिशरण पण्डितले समाजको विधानको निर्वाचन सम्बन्धि विषयबस्तुको जानकारी दिँदै नेता जोशीको चौथो चरणको जिल्ला भ्रमणको सर्न्दभमा १० वटै पालिकाको अधिवेशन सम्पन गरिने बताए ।
आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले विपीकाे विचारबाट पार्टी विचलित भएको बताउँदै पञ्चायतका पीडित र द्वन्न्द्वपीडित नेता तथा कार्यकर्तालाई पार्टीले उचित सम्मान गर्न नसकेको बताइन् ।
विपी विचार समाज आँबुखैरेनीको सभापतिमा गुरुङ
विपी विचार समाज आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा पित्तमबहादुर गुरुङ चयन भएका छन् । नवगठित समाजको उपसभापतिमा पञ्चबहादुर गुरुङ, सचिवमा परशुराम मिश्र, कोषाध्यक्ष पूर्णबहादुर मगर चयन भएका छन्हु । सदस्यहरुमा धनवीर गुरुङ, शालिग्राम अधिकारी, तेजबहादुर चितौरे, धनबहादुर गुरुङ र तुलसीमाया पन्थ चयन भएका छन् ।