दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शहिदको योगदानलाई भुल्न नहुनेमा जोड दिएका छन् ।
तनहुँको व्यास नगरपालिका–१ भादगाउँमा निर्माण गरिएको सहिद विक्रम परियारको अर्धकदको शालिकको शनिबार अनावरण गर्दै वरिष्ठ नेता पौडेलले शहिदले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएकाले शहिदलाई सदैव सम्मान गर्नुपर्ने बताए। स्व. विक्रम परियारको योगदानलाई चीरस्थायी बनाउनुपर्नेमा जोड दिँदै पौडेलले भने, “शहिदको परिवारलाई काङ्ग्रेसले सधँै सम्मान गर्छ ।”
फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले विगतमा सबै कम्युनिष्ट नेता एमसिसीको पक्षमा भएपनि अहिले चीनको इशारामा त्यसको विपक्षमा उभिएको आरोप लगाए । विद्युत शक्ति बेचेर नेपाललाई धनी बनाउन अमेरिकाले चाहेको बताउँदै उहाँले एमसिसी नेपालको हितमा रहेको बताए।
गठबन्धनका कम्युनिष्ट नेताले एमसिसीको बारेमा जनतामा भ्रम फैलाउने काम गरेको पौडेलको भनाई थियो । “एमसिसीको कुनै पनि वाक्य र दफा राष्ट्रघाती छैन, जनतामा अनावश्यक भ्रम फैलाइएको छ,” पौडेलले भने।
कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टीले शहिदको उचित सम्मान गर्न नसकेको बताए। उनले काङ्ग्रेसलाई सङ्गठित र व्यवस्थित पार्टी बनाउनुपर्नेमा जोड दिँदै त्यसो भएमात्रै सबै चुनाव काङ्ग्रेसले जित्ने बताए।
केन्द्रीय सदस्य गोविन्द भट्टराईले शहिद विक्रम परियारको परिवारलाई उचित व्यवस्थाका लागि पार्टीले सहयोग गर्नुपर्ने धारणा राखे। भट्टराईले विगतमा एमसिसी माग गर्ने नेताहरु नै अहिले त्यसको विरोधमा उभिएको आरोप लगाए।
व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शहिद विक्रम परियारको शालिक र पार्क निर्माणका लागि नगरपालिकाको तर्फबाट रु दश लाख सहयोग गरेको बताए। काङ्ग्रेस जिल्ला सभापति जितप्रकाश आलेले लोकतान्त्रिक आन्दोलनमा ज्यान गुमाएका शहिदको पार्टीले सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे।
स्व. विक्रम परियार शालिक तथा पार्क निर्माण समितिले रु ११ लाखको लागतमा परियारको अर्धकदको शालिक निर्माण गरेको छ । पार्कलाई थप व्यवस्थित गर्न बाँकी रहेको समितिका अध्यक्ष होमबहादुर बस्नेतले जानकारी दिए। व्यास नगरपालिका–१२ का विर उपरकोटीले शहिद परियारको शालिक निर्माण गरेका हुन् ।
गायन क्षेत्रमा सक्रिय परियारको विसं २०७४ वैशाख ३१ गते स्थानीय तहको निर्वाचनको मतदान सकिएपछि केही युवाबाट हत्या भएको थियो । परियारको जन्म विसं २०३१ साल जेठ ११ गते बन्दीपुरको हुस्लाङमा भएको थियो ।