दमाैली । जबरजस्ती करणीको अभियोग लागेपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा गिरफ्तारी दिएका नायक पल शाहले आफू निर्दोष रहेको बताएका छन् । आइतबार दिउँसो प्रहरी कार्यालय उपस्थित हुनुअघि भिडिओ सन्देश जारी गर्दै पलले आफूलाई फसाइएको बताएका हुन् ।
उनले भनेका छन्, ‘मलाई पहिल्यैदेखि फसाउँदै यहाँसम्म ल्याइएको छ, त्यो कुरा पनि अदालतमा भन्नेछु । सम्मानित अदालतले गर्ने निर्णय स्वीकार्छु, मसँग भएको प्रमाण अदालत सामु दिनेछु ।”
शाहले आफूले एकचोटी दर्शकसँग बसेर म यस्तो गीत गाउँछु २ हेर्ने इच्छा व्यक्त गरेका छन् । ‘म प्रहरी सामु गएपछि त्यो सम्भव होला नहोला, एकचोटी चाँही यो बीचमा दर्शकसँग बसेर फिल्म हेर्ने मन छ, त्यो सम्भव भए गर्दिनुहोला,’ उनले भने । शाहले नेपाली फिल्म र आफूलाई माया गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।