पलविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पलविरुद्ध प्रमाण संकलन गर्दै प्रहरी

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७८, बुधबार

    दमाैली । एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि प्रहरी अनुसन्धान जारी छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए ।

    सोही जाहेरीका आधारमा पलविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । सुरुको केही दिन प्रहरीलाई छलेका पल गएको आइतबार आफैँ प्रहरी कार्यालयमा उपस्थित भएका थिए । उनीविरुद्ध जिल्ला अदालतले सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

    प्रहरीले पलविरुद्ध प्रमाण संकलनलगायत काम अगाडि बढाएको एक प्रहरी अधिकारीले जानकारी दिए । ती प्रहरी अधिकारीका अनुसार तनहुँबाट पललाई केही दिनपछि गैँडाकोट समेत लगिनेछ ।

    पलविरुद्ध आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको छ । पललाई गैँडाकोट लगिए पनि मुद्दा प्रक्रिया भने तनहुँबाटै अगाडि बढ्नेछ । गैँडाकोटमा पलको अनुसन्धान सकिएपछि मिसिलसहित उनलाई तनहुँ पठाइनेछ ।

    प्रहरीले पल गैँडाकोटमा बसे/नबसेको रेकर्ड समेत हेर्नेछ । त्यसबाहेक त्यसलाई पुष्टि गर्ने प्राविधिक अनुसन्धान पनि प्रहरीले गर्नेछ ।

    उनको बयान भने गैँडाकोटमा समेत हुनेछ । बयान, प्रमाणलगायत सबै कागजातहरू अनुसन्धानपछि तनहुँ जिल्ला प्रहरी कार्यालयलाई नै सुम्पिने तयारी छ ।

    पललाई भेट्नका लागि पछिल्लो समय तनहुँमा समर्थकलगायत व्यक्तिको भिड लाग्न थालेको छ । प्रहरीले नजिकका आफन्त र कानुन व्यवसायीबाहेक अरूलाई भेट्न रोक लगाएको छ । पल प्रकरणमा नेपाली कलाकार समेत पक्ष/विपक्षमा बोल्दै आएका छन् ।