


आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ स्थित सत्रसय आधारभूत स्वास्थ्य केन्द्रमा प्रसुती केन्द्र सञ्चालन गरिएको छ । सबै वडामा प्रसुती केन्द्र स्थापना गर्ने गाउँपालिकाको लक्ष्य सहित वडा नम्बर १ को आधारभूत स्वास्थ्य केन्द्रमा आजदेखि प्रसुती केन्द्र सञ्चालन सुरु गरिएको छ ।
स्थानीय महिलालाई वडास्तरमै प्रसुती सेवा दिने उद्देश्य सहित प्रसुती केन्द्र सञ्चालनमा ल्याइएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए । “यस क्षेत्रका महिलालाई सुरक्षित रुपमा आफ्नै ठाउँमा प्रसुती सेवा दिनका लागि प्रसुती केन्द्र सञ्चालनमा ल्याएका हौ,” उनले भने, “यसले गर्दा घरमै असुरक्षित सुत्केरी हुने प्रचलन पनि हट्ने विश्वास लिएका छौ ।” घरमा सुत्केरी हुँदा महिला र बच्चा दुवैको स्वास्थ्यमा समस्या देखिन सक्ने भएकाले प्रसुती केन्द्रमा नै आएर प्रसुती गराउन सचेतना जगाइने उपाध्यायले बताए ।
स्वास्थ्य केन्द्रमा प्रसुती सेवा सञ्चालनका लागि सबै उपकरण व्यवस्थापन गरिसकिएको छ । केन्द्रबाट गर्भवती जाँच, तालिम प्राप्त नर्सबाट सुत्केरी सेवा प्रदान गरिनेछ । सुत्केरी भएपछि आवश्यक जाँचको व्यवस्था समेत गरिएको छ । केन्द्रमा एक जना नर्स पहिल्यै रहेपनि प्रसुती केन्द्रका लागि छुट्टै नर्सको व्यवस्था गरिएको छ । प्रसुती केन्द्रबाट आँबुखैरेनी गाउँपालिका–१ र २ का अलवा गोरखाको पालुङटार र तनहुँकै बन्दीपुर गाउँपालिका महिला लाभान्वित हुनेछन् ।
प्रसुती केन्द्रमा सुत्केरी गराउँदा गाउँपालिकाले प्रोत्साहन स्वरुप नगद समेत प्रदान गर्ने गरेको छ । सरकारी स्वास्थ्य संस्थाबाट सुत्केरी गराउँदा नेपाल सरकारबाट रु दुई हजार आठ सय गाउँपालिकाबाट रु एक हजार गरी रु तीन हजार आठ सय प्रोत्साहन रकम दिने गरिएको छ । यसका साथै सुत्केरीसँग उपाध्यक्ष कार्यक्रममार्फत् एक क्रेट अण्डा र एउटा कुखुराको भाले दिने व्यवस्था सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले बताइन् ।
उनका अनुसार सबै वडामा प्रसुती केन्द्र सञ्चालन गर्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरिएको छ । तर बजेट अभावका कारण केन्द्र सञ्चालनमा ढिलाई भएको उनले बताइन् । “सबै वडामा प्रसुती केन्द्र राख्नका लागि गाउँपालिकाको नीति तथा कार्यक्रममा समावेश गरेपनि बजेट अभावले विस्तार गर्न सकिएको छैन, आगामी दिनमा विस्तार हुँदै जानेछ,” श्रेष्ठले भनिन् ।
उपाध्यक्ष श्रेष्ठका अनुसार गाउँघरमै प्रसुती केन्द्र नहुँदा महिलाहरुलाई समस्या हुँदै आएको छ । प्रसुती केन्द्रको अभावमा घरमै सुत्केरी गराउँदा कतिपयले त ज्यान पनि गुमाएको उनकाे भनाई छ ।
यसअघि आँबुखैरेनी स्वास्थ्य चौकीबाट प्रसुती सेवा नियमित रुपमा सञ्चालन भइरहेको छ । उक्त केन्द्रबाट वार्षिक एक सय ५० भन्दा बढीले सुत्केरी सेवा लिने गरेका छन् ।