


दमौली । नाबालिग करणीको आरोपमा हिरासतमा रहेका कलाकार पल शाहलाई भेट्न नायिका पूजा शर्मा आउने खबरपछि बुधबार दिनभर दमौलीस्थित जिल्ला प्रहरी कार्यालय वरिपरि पल-पूजाका ‘फ्यान’को घुँइचो लाग्न थाल्यो। बलात्कार आरोपित पललाई भेट्न पूजा दमौली आउन लागेको सुइँको आफूनिकटलाई अघिल्लो दिन नै दिन भ्याइसकेकी थिइन्।
पूजा आउने भएसँगै दर्जनौंको संख्यामा युट्युबर र तनहुँमा रहेका उनका फ्यान जिप्रका अगाडि जम्मा भए। तीन घण्टासम्म भीडलाई पर्खाएपछि दिउँसो ४:३० बजे ०२३ च ०७७५ नम्बरको कारमा पूजा शर्मा दमौली आइपुगिन्।
पूर्वयोजनाअनुसार पूजाको गाडी देख्नेबित्तिकै फ्यान भनिनेले पल र पूजाको पक्षमा नाराबाजी गर्न थाले। आफ्नो पक्षमा नाराबाजी भएको देखेपछि वियजी भावमा हात हल्लाउँदै पूजासहित तीन जना प्रहरी कार्यालयको गेटभित्र प्रवेश गरे।
यता बाहिरको भीडले पूजाको पक्षमा हाईहाई गरी नै रह्यो।
भीआइपी शैलीमा पूजा प्रहरी कार्यालय प्रवेश गर्नुभन्दा ५ मिनेटअगाडि त्यही भीडबीचबाट एउटा ट्याक्सी पनि प्रहरी कार्यालय प्रवेश गरेको थियो। उक्त ट्याक्सीलाई कसैले वास्ता गरेको देखिएन। तर उक्त गाडीमा रहेका मानिस भने भीडसँग डराउँदै कार्यालय प्रवेश गरे। जहाँ सवार थिए, आफ्नी नाबालिग छोरीमाथि भएको करणीविरुद्धको जाहेरी दिने बुबा र आमा। बाटोमा अभियुक्त पक्षधरले केही गर्लान् कि भन्ने त्रासले पोखराबाट कास्की प्रहरीको संरक्षणमा ट्याक्सी चढेर उनीहरु दमौली आइपुगेका थिए।
पीडित नाबालगका आमा-बुबा प्रहरी कार्यालय आइपुग्दा दिनको ४:२५ बजेको थियो। दमौली प्रहरीको निम्तो न्यायका लागि भौतारिरहेका पीडित नाबालगका आमाबुबा पोखराबाट दमौली आएका थिए।
उनीहरु प्रवेश गरेको ५ मिनेट नबित्दै अभियुक्त पललाई भेट्न नायिक पूजा शर्मा आइपुगिन्। मात्र, केही मिनेटको फरकले दुई पक्षको जम्काभेट भएन।
सामान्य सर्ट–पाइन्ट र ज्याकेट लगाएका थिए पीडितका बाबुले। आमाले पनि धोतीचोली लगाएकी थिइन्। जुन आम नेपाली आमाबाबुको परिधान हो।
प्रहरी कार्यालयभित्र पीडितका आमा–बाबुले एक घण्टा बिताए। छोरीमाथि जबर्जस्ती करणी गर्नेमाथिको अनुसन्धान कहाँ पुग्यो भनेर डिएसपीदेखि अनुसन्धान अधिकृतसमक्ष जिज्ञासा राखे।
ठोस जवाफ प्रहरीसँग पनि थिएन। ‘तर, अनुसन्धान भइरहेको छ, चिन्ता नलिनुस्, न्याय मिल्छ’ भन्दै प्रहरी अधिकृत निरन्तर ढाडस दिन्थे। तर पीडाले आक्रान्त ती आमाको गह फौजी सान्त्वनाले रोक्न सकेन। छातीभित्र फुटेको उनको वेदनाको रन्को आँशु भएर बग्न थाल्यो।
गाउँमा बस्ने यी कर्मशील आमालाई जीवनमा यस्तो भयावह दिनको सामना गर्नुपर्ला भन्ने कल्पनासम्म थिएन। यो हदसम्मको वज्रपात आफ्नो सानी छोरीमाथि हुने कल्पना उनले गरेकी थिइनन्। आमा-बुबाको लाडप्यारमा खेलेर भर्खर मात्र हुर्किएर आफ्नो खुट्टामा उभिन लागेकी छोरीमाथि पटक-पटक जबजर्स्ती करणी भएको थियो। त्यही घटना भएको महिनौँपछि उनीहरू मुद्दा दर्ता गर्न दमौली आएका थिए।
जसरी एउटै घाम बेसीभरि लाग्दा, लेकमा हुस्सु लागिरहेको हुन्छ। एउटा फूल हिउँदमा फुल्दा अर्को पतझरमा हुन्छ। आफ्नै छोरीसमान पूजा शर्माको बाहिर हाइहाइ हुँदा उनकी छोरीमाथि भने क्रुर अपराध गरिएको थियो। अनि त्यही अपराधमा संलग्न अभियुक्तलाई भेट्न आफ्नै छोरीजस्ती पूजा आएको देख्दा यी आमा–बुबाको मर्ममा सहस्र व्रज पर्यो। बुबाले आँशु छातिभित्रै दबाए तर आमाको छाती न थियो, रसाइहाल्यो।
प्रहरी उपरीक्षकसँग यी आमाबाबुले केहीबेर कुरा गरे। ‘उत्तेजित भीडले आफू चढेको गाडीमा ढुंगा हान्ला कि भनेर डराउँदै दमौली आएको’ बताए। अनि अभियुक्तकै पक्षमा किन यसरी मान्छेहरू हुल बाँधेर नाराबाजी गर्दैछन् बुझ्न खाजे।
खेती–किसानी गरेर गुजारा गर्ने यी आमाबाबुलाई शक्ति, पद र प्रतिष्ठाको बलमा भीड सृजना गर्नेहरूको कर्तुत थाहा थिएन।
यता चार दिनदेखि हिरासतमा रहेका अभियुक्त पलको पक्षमा प्रहरी कार्यालयबाहिर नाराबाजी भइरह्यो। ‘पल–पूजा हाइहाइ!’, ‘पल शाह निर्दोष छन्’जस्ता नारा लगाएको हेर्दा लाग्थ्यो– यहाँ पूजा शर्माको विजय जुलुस चलिरहेको छ। उनी विजयी भावमा सबैलाई अभिवादन गर्दै अघि बढ्दैछिन्। पूजा जति मच्चिएर हात हल्लाउँथिन्, पीडितको आमाको छातिमा उतिपटक व्रज पर्थ्यो।
पलविरुद्ध जाहेरी परेयता पल शाहलाई ‘भगवान’ ठान्ने एउटा तप्का यतिखेर निरन्तर सामाजिक सञ्जालमा पीडित किशोरीको बदनाममा उत्रिएको छ। तथानाम गाली गरिरहेको छ। र, यो सब देखेर आफूलाई सम्हाल्न सकिरहेकी छैनन् पीडित किशोरी। ‘जसले गाली गरिरहेको छ, सबैलाई मुद्दा हाल्नुपर्छ भन्दै भिडियो पठाइरहिन्छन्, उनी। सोसियल मिडियामार्फत उनीमाथि अर्को हिंसा भइरहेको छ। साइबर ब्यूरोले यसलाई रोके हुन्थ्यो,’ पीडित किशोरीको न्यायका निम्ति सहयोग गरिरहेकी ज्यास्मिन ओझा भन्छिन्।
त्यसो त साइबर ब्यूरोले मंगलबार विज्ञप्ति नै जारी गरी नाबालिग किशोरीमाथि तथनाम नलेख्न चेतावनी नै दिइसकेको छ। यद्यपि यो क्रम रोकिएको छैन। दमौली प्रहरी कार्यलयकै अगाडि पनि कतिपय पीडितविरुद्ध नारा लगाइरहेको अहिले पनि त्यहाँ उपस्थित युट्युबरका च्यानलमा देख्न सकिन्छ। तर, प्रहरी मुकदर्शक बन्नबाहेक केही गर्न सकिरहेको छैन।
एक वर्षअघि अभिनेत्री पूजा शर्मामाथि रजतपटका प्रस्तोता प्रकाश सुवेदीले शारिरीक टिप्पणी गर्दा आफूमाथि ‘बडी सेमिङ’ भएको भन्दै मुद्दा मामिलामै उत्रिएकी थिइन् उनी। त्यतिबेला उनले भनेकी थिइन्, ‘ह्यारेस्मेन्ट गर्नलाई ‘रेप’ नै गरेको हुनुपर्दैन। उसले बोल्ने बोलीले पनि ह्यारेस्मेन्ट हुनसक्छ।’
तर, हिजो आफूलाई पर्दा हिंसाबारे त्यस्तो प्रतिक्रिया दिने पूजा आज अर्की एक नाबालिग गायिकालाई पर्दा खुलेर तिनै पीडकको पक्षमा बोलिरहेकी छिन्। उल्टै भनिरहेकी छिन्, ‘ती नानीले म सानो छु भन्ने सोच्नु पर्थ्यो। मलाई त बलात्कार भनेको थाहा छैन, बल्ल बुझ्दैछु।’
यही अभिव्यक्तिका कारण पूजा अहिले विवादित बनिरहेकी छिन्। तर, यही विवादबारे तनहुँ प्रहरी कार्यलयको गेट अगाडि जिज्ञासा राख्दा उनले केही जवाफ दिन चाहिनन्। ‘सिनेमा हलमा बोलौँला’ भन्दै उम्किइन्।
बाहिर पलको पक्षमा नारा चलिरहेको थियो। दर्शकलाई हाइ गर्दै पूजा पललाई भेट्न प्रहरी कार्यलय छिर्दै गर्दा पनि पीडित किशोरीकी आमाबुबा त्यहीँ थिए, इन्भिेस्टिगेसन रुममा। तर, अहँ! पूजा शर्मालाई कुरिरहेको दर्जनौं युट्युबरको क्यामेराले उनीहरुलाई देखेन। न उनीहरुको डर देख्यो, न उनीहरुको आँशु।
मात्रै पूजाको ग्ल्यामर देख्यो, स्टाइल देख्यो, गाडी थियो, र देख्यो- उनीसँगै आएका शोभित बस्नेत लगायतका कलाकार। अनि उनीहरुकै फुटेज खिचेर हतारहतार अपलोड गर्न दगुर्यो।
तर, नेपालसमयकर्मी पीडित बाआमा पछ्याउँदै प्रहरी कार्यालयभित्रै पुगेको थियो। बाहिर पलको पक्षमा हुलका हुल भिड देखेर उनीहरु त्रसित सुनिन्थे।
‘यही बाटो फर्कियो भने त हामीलाई ढुंगाले हान्लान् नि,’ प्रहरीकै अगाडि उनीहरु डर व्यक्त गरिरहेका थिए। र, उनीहरुको यो डर महसुस गरिरहेका थिए डिएसपी युवराज खड्काले। त्यसैले पूजा शर्मा नफर्किंदासम्म प्रहरीले उनीहरुलाई बाहिर जान दिएन।
जब पूजा फर्किइन्, बाहिर जम्मा भएको भीड पनि आआफ्नो स्थानमा फर्कियो। त्यसपछि तनहुँ प्रहरीले संरक्षण दिँदै एउटा गाडी चढाएर पोखरा फर्कायो
फर्किदै गर्दा उनीहरुको आँखामा न्यायको आशा प्रस्टै झल्किन्थ्यो। ‘सर, हामी त गाउँको मान्छे, केही बुझ्दैनौं, केही जान्दैनौं। तर, छोरीले न्याय पाउँछे भन्ने आशा राखेका छौं। निराश नबनाउनुहोला,’ जाँदै गर्दा जाहेरी दिने पीडितका बा’को आग्रह थियो। (नेपाल समयबाट)