


दमाैली । व्यास नगरपालिकाले वडा नम्बर ५ स्थित तीन वटा टोल विकास संस्थाका स्थानीयवासीसँग आफ्नो कार्यकालमा भएका कामको बारेमा समिक्षा गरेको छ । उक्त वडाको रानीटारी, बरबोटे र नेपालटार टोल विकास संस्थाका प्रतिनिधि र जनप्रतिनिधिबीच साढे चार वर्षको अवधिमा भएका कामको बारेमा बिहीबार समिक्षा गरिएको हो ।
नगरप्रमुख वैकुण्ठ न्यौपाने र वडाध्यक्ष मोहनकुमार श्रेष्ठले स्थानीय जनतासँग आफ्नो कार्यकालमा गरिएको कार्य प्रगतिको विषयमा अन्तरक्रियात्मक छलफल गरेका थिए ।
कार्यक्रममा १५ जना स्थानीयवासीले साढे चार वर्षको अवधिमा भए गरेका सम्पूर्ण भौतिक एवं स्थानीय विकासको प्रशंसा एवं कार्यान्वयनका क्रममा हुने गरेका समस्या बारे बोलेका थिए ।
सोक्रममा नगरप्रमुख न्यौपानेले योजना विनियोजनको प्रक्रिया, स्थानीय विकासका प्राथमिकता एवं नीतिगत चुनौतिको व्याख्यात्मक विश्लेषण गरेका थिए । त्यस्तै वडाध्यक्ष श्रेष्ठले स्थानीय सरोकारका विषयमा प्रश्नोत्तर गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, भूमिहिन सुकुम्बासीहरुको समस्या र आसन्न निर्वाचनको विविध विषयमा छलफल भएको बताइएको छ ।