दुलेगौडा । आज अन्तराष्ट्रिय नारी दिवस । तनहुँका स्थानीय तहले विभिन्न कार्यक्रम गरेर मनाउँदैछन् । हाफ म्याराथनदेखी श्रीमान् बोकेर दौड्ने दौड जिल्लाका स्थानीय तहले नारी दिवसका अवसरमा आयोजना गरेका छन् ।
जिल्लाको देवघाट गाउँपालिकाले महिलाहरुका लागि श्रीमान बोकेर दौड्ने दौडको आयोजना गरेको छ । गत बर्षदेखी सुरु भएको दौडलाई गाउँपालिकाले यसपालि पनि निरन्तरता दिएको हो । गत बर्ष गरिएको यो प्रतियोगिता विवादित बनेको थियो । तर सकरात्मक लिनुपर्छ भनेर श्रीमान बोकेर दौडने दौडलाई निरन्तरता दिएको गाउँपालिका उपाध्यक्ष विमला थापाले बताईन् । उनि भन्छिन्, ‘महिलाहरु पुरुषभन्दा कम छैनन् । सबै हिसाबले पुरुष बराबर छन् । मानसिक, शारीरिक रुपमा पनि सक्षम छौँ भनेर देखाउनलाई गत बर्षदेखी दौड गरेका छौँ ।’ प्रतियोगिताले महिलालाई पुरुष बराबर सक्षम छन् भन्ने प्रमाणित गर्न सघाउने उपाध्यक्ष थापाको भनाई छ ।
प्रतियोगिताको विजेतालाई पाँच हजार रुपैयाँको साथमा शिल्ड दिईनेछ । दोस्रो, तेस्रो र चौथोलाई क्रमश ः तीन हजार, दुई हजार र पाँच सय रुपैयाँको साथमा शिल्ड प्रदान गरिनेछ ।
व्यास नगरपालिकाले महिला हाफ म्याराथन गर्दैछ । व्यास गुफादेखि तनहुँसुर दरबारसम्म २१ किलोमिटर दुरीमा हाफ म्याराथन प्रतियोगिता हुने उपप्रमुख मिरा जोशीले बताईन् । ‘महिलामा पनि पुरुष सरह आँट छ भन्ने सन्देश दिन हाफ म्याराथन गर्दैछ । व्यास गुफा र तनहुँसुरलाई खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्न पनि खोजेका छौँ’, उनले भनिन् ।
महिला हाफ म्याराथन विजेताले ४१ हजार ७८ रुपैयाँ प्राप्त गर्नेछ । दोस्रोले ३१ हजार ७८ रुपैयाँ, तेस्रोले २१ हजार ७८ रुपैयाँ पाउनेछन् । सान्त्वना स्थान हासिल गर्ने पाँच जनालाई जनही ११ हजार ७८ रुपैयाँ पुरस्कार गरिनेछ । महिला हाफ म्याराथनमा १५० धावक सहभागी हुने अनुमान गरिएको छ ।
भिमाद नगरपालिकाले महिलाहरुलाई कानुनी प्रशिक्षण दिएर अन्तराष्ट्रिय नारी दिवस मनाउने उपप्रमुख शारदा खनालले बताईन् । ‘अझै पनि हाम्रा महिला दिदी वहिनी आफ्ना हक अधिकार बारे कानुनी रुपमा साक्षर हुनुहुदैन् । तसर्थ सबै वडाका महिला दिदी वहिनीलाई भेला गराएर कानुनी प्रशिक्षण दिदैछौँ’, उनले भनिन् ।
बन्दीपुर गाउँपालिकाले महिलाहरु बिच वकृत्वकला प्रतियोगिता आयोजना गरेको छ । महिलाको नेतृत्व विकास गराउनलाई दिवसमा वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको उपाध्यक्ष करुणा गुरुङले बताईन् ।
अरु स्थानीय तहले पनि नारी दिवस विशेष कार्यक्रमको आयोजना गरेका छन् ।