दमौली । तनहुँको व्यास नगरपालिका–१२ छाब्दी फुर्लङमा गाईको खुट्टा काटेको अभियोगमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६६ वर्षीय मानबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफ्नै गोठमा पालिएको कैलो रङ्गको गाईको पछाडिको दुवै खुट्टामा धारिलो हतियार फलामको खुर्पाले काटेर घाइते बनाएको अभियोगमा निजलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । पक्राउ परेका थापा विरुद्ध पशुपंक्षी सम्बन्धी कसुर मुद्दामा अनुसन्धानका लागि तनहुँ अदालतबाट सात दिनको म्याद थप गरिएको छ ।