दमाैली । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ जिल्लालाई विकासमा नमूना बनाउन आफू प्रयत्नरत रहेको बताएका छन् । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काङग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले साेमबार पार्टी कार्यालयमा आयोजना गरेको भेटघाटलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले तनहुँको विकासमा आफू सदैव प्रतिबद्ध रहेको उल्लेख गरे ।
काङग्रेसको नेतृत्वमा जिल्लाको विकास निर्माणको अभियान थालनी भएको बताउँदै पौडेलले उक्त अभियान अझै नसकिएको बताए । “खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जतिपनि काम भएका छन्, त्यो काङ्ग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी भएका काम पनि पूरा गर्छौ,” उनले भने ।
नेपाली काङ्ग्रेसले जितेका पालिकाहरुमा विकासमा उदाहरणीय काम भएको भन्दै वरिष्ठ नेता पौडेलले त्यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे । “व्यासमा पनि थुप्रै पूर्वाधार बनेको छ, काङ्ग्रेसले जितेका कारण यो सम्भव भयो,” उनले भने ।