सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धन : गृहमन्त्री

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७८, सोमबार

    दमौली । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिको लागि भएको बताएका छन्। तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौँ तनहुँ महोत्सवमा समापन गर्दै उनले गठबन्धनको उपलब्धि सरकार बनाउनुमात्र नभइ संविधानको रक्षाका लागि भएको प्रष्ट पारे ।

    गृहमन्त्री खाँणले लोकतान्त्रिक प्रणालीमाथि प्रहार भएपछि अहिलेको गठबन्धन बनेको बताए । उनले भने, “संविधान बचाउन गठबन्धन गरिएको हो, सरकार प्राप्तिका लागि मात्र होइन । मुलुकको विकास र शान्तिका लागि हो ।”

    गृहमन्त्री खाँणले नागरिकको जीवनरक्षा सरकारको पहिलो दायित्व भएको बताउँदै कुनै पनि नागरिकले अकालमा ज्यान गुमाउन नपरोस् भनेर सरकार गम्भीर रहेको बताए । सीमित स्रोत र साधनका बाबजुद पनि सुरक्षा निकायले गम्भीरतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेको उनको भनाइ थियो ।

    उद्योगी व्यवसायीको संरक्षणका लागि सरकार गम्भीर रहेको भन्दै गृहमन्त्री खाँणले भने, “उद्योगीको सुरक्षाका लागि गम्भीर र संवेदनशील छौँ । रोजगारी वृद्धि गरी अर्थतन्त्र चलायमान बनाउन व्यवसायी गतिशिल बन्नुपर्छ । जनतालाई सम्पन्न र सरकारलाई सक्षम बनाउन उद्योगी व्यवसायीको भूमिका छ ।”

    गृहमन्त्री खाँणले तनहुँमा जन्मिनुभएका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको विकासका लागि योगदान पु¥याएको चर्चा गर्दै भने, “भानुभक्त आचार्य नजन्मिएको भए नेपाली भाषाले यो उचाई प्राप्त गर्ने थिएन ।”

    खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएकै मितिमा चुनाव गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै मुलुक निर्वाचनको तयारीमा जुटिसकेको बताए । हरेक नेपालीलाई स्वच्छ खानेपानी पु¥याउन सरकार प्रतिबद्ध रहेको मन्त्री चौधरीको भनाइ थियो ।

    नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले हरेक वडामा कृषि उपज बजारीकरणका लागि सरकारले पहल गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा तनहुँ उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष मानकाजी श्रेष्ठ, गोरखाका पूर्व अध्यक्ष विश्वदेव श्रेष्ठ लगायतले निजी क्षेत्रको प्रवद्र्धनमा सरकार लाग्नुपर्ने बताए ।

    सङ्घका अध्यक्ष एवं महोत्सव मूल समारोह समितिका संयोजक पविन्द्रकुमार श्रेष्ठले महोत्सव सफल भएको बताए । आर्थिक, सामाजिक विकासका साथै स्थानीय उत्पादन, कृषि, धार्मिक, सांस्कृतिक, पर्यटकीय स्थल, उद्योग, व्यापार व्यवसायको सम्भाव्यता अध्ययन गरी प्रबद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको र महोत्सवको लक्ष्य पूरा भएको उनले बताए ।